संसदमा रास्वपाको शसक्त उपस्थिति, प्रधानमन्त्रीसमेत फर्किए
काठमाडौं – रास्वपाले संसद अबरोधलाई झन् शसक्त बनाएको छ । शुक्रबारको संसद बैठकमा कालो कपडा र निलो रिबनसहित सांसदहरुले विरोध जनाएपछि संसद अवरुद्ध भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रश्नोत्तर कार्यक्रम राखिएको दिन रास्वपाका पुरुष सांसदहरु कालो कोट, कालो पाइन्ट र निलो रिबन लगाएका थिए भने महिला सांसदहरुले कालो कोट र कालो सारी लगाएका थिए । कालो विरोध र निलो रिवनलाई मानव वेचविखन विरुद्धको प्रतिकका रुपमा लिने गरिन्छ ।
भिजिट भिसा प्रकरण छानबिनको माग गर्दै आएका रास्वपा सांसदहरु मानव तस्करीविरुद्धको अभियानलाई विश्वव्यापी रूपमा ‘निलो रिबन’प्रतिकका रुपमा रहेको जनाएका छन् । यसअघि पनि उनीहरुले निलो रिबन लगाएर सदनमा उपस्थित भएपछि नेपाली कांग्रेसले ‘अमर्यादित’ पोसाक भन्दै टिप्पणी गरेको थियो ।
रास्वपाका सांसद मनिष झाले नेपालमा भिजिट भिसाको नाममा भइरहेको मानव तस्करी सम्बन्धी संगठित अपराधको विरोध स्वरुप कालो कपडा र निलो रिबन लगाएको बताए । उनले भने, ‘प्रतिनिधिसभाको बैठकमा विरोध स्वरुप सबैले कालो कपडा र निलो रिबन लगाएका छौं । निलो रिबन मानव तस्करी विरुद्धको विश्वव्यापी संकेत हो । अहिले नेपालमा भइरहेको भिजिट भिसाको नाममा जुन मानव तस्करी सम्बन्धी संगठित अपराध भइरहेको छ त्यसको विरोध विगत २२ दिनदेखि १५ वटा बैठकमा गरिरहेका छौ र त्यो विरोधको आज पनि निरन्तरता दिएका छौ । हामी प्रधानमन्त्रीज्यूलाई हाम्रो केही कुरा सुनाउन चाहन्थ्यौं तर उहाँले त्यो कुरा सुन्न चाहनुभएन । बैठकमा हाम्रो कुरा नसुनेर निस्किनुभयो । तसर्थ हामीले, आज राष्ट्रिय स्वतन्त्र पार्टीका सबै सांसदहरूले आफ्नो कुरा बोल्न पनि नपाउने र आफ्नो कुरा प्रधानमन्त्रीले नसुनिदिने भएको हुनाले बैठक बहिष्कार गरेर निस्किएका छौं।’