रविको पक्षमा बोल्ने वकिललाई फसाद
काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको पक्षमा बोल्ने एक वकिललाई फसाद परेको छ । सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश मेघराज पोखरेलले रास्वपा सभापति रवि लामिछाने थुनामा गएपछि पार्टी कार्यालयमै पुगेर छुटाउने योजना बनाएको भन्दै संसदीय सुनुवाई समितिमा उजुरी परेको छ ।
अदालतले थुनामा पठाएको व्यक्तिको पक्षमा वकालत गर्नु अनैतिक हुने भन्दै टि.वि कार्कीले पोखरेल सर्वोच्चको न्यायाधीश भएमा निष्पक्ष न्याय सम्पादन नहुने जिकिर गर्दै उजुरी गरेका हुन् । जेठ अन्तिम साता बसेको न्याय परिषद्को बैठकले वरिष्ठ अधिवक्ता पोखरेलसहित उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश श्रीकान्त पौडेल र उच्च अदालत दिपायलका शान्तिसिंह थापालाई सर्वोच्चको न्यायाधीशमा सिफारिस गरेको थियो ।
सुनुवाई समितिले असार १ गतेदेखि १० दिनसम्म उनीहरुविरुद्ध उजुरी आह्वान गरेकोमा आज कार्कीले उजुरी हालेका हुन् । अदालतको आदेश बमोजिम लामिछाने थुनामा गएपछि पोखरेलले पार्टी कार्यालयमै पुगेर छुटाउने योजना बनाएको उजुरकर्ताको दावी छ ।
‘एउटा पार्टी कार्यालयमा गएर अदालतले थुनामा पठाएको व्यक्तिको पक्षमा वकालत गर्नु कत्तिको सान्दर्भिक हो ? कति नैतिक र अनैतिक हो ? गम्भीर प्रश्न उठेको छ’, उजुरीमा भनिएको छ, ‘वरिष्ठ अधिवक्ता पोखरेलले सहकारीको पैसा कानुनविपरित कम्पनीमा आयो र त्यसलाई जिबी राईले सर्टटम लोन भनेपछि कम्पनी त ऋणी भएन, भए पनि जिबी होलान्, रविलाई किन तानेको ? उनको प्रश्न थियो ।’
पोखरेल सर्वोच्चको न्यायाधीश भएमा निष्पक्ष न्याय सम्पादन नहुने कार्कीको जिकिर छ ।