आमा, बुवा र हजुरआमा गुमाएर टुहुरी बनिन् ४ वर्षीया रिद्या
काठमाडौँ – गएको शनिबार हेटौँडाबाट नारायणगढ जाँदै गरेको इभी भ्यान चितवनको राप्ती नगरपालिका–३ स्थित पूर्व पश्चिम राजमार्गमा दुर्घटना भयो । हेटौँडा–१० बसपार्कबाट १० जना यात्रु लिएर नाराणगढको लागि छुटेको ०३–००१ ज २९९ नम्बरको ईभी भ्यान धनगढीबाट काकडभिट्टा जाँदै गरेको प्रदेश १–०१–००१ ख ३५८३ नम्बरको यात्रु बससँग ठक्कर खाँदा एकै घरका तीनसहित (एक गर्भवती महिलासमेत) सात जनाले ज्यान गुमाए।
हेटौँडाबाट नारायणगढतर्फ जाँदा देब्रे लेनबाट गुड्नुपर्ने इभी भ्यान राप्ती नगरपालिकाको लक्ष्मी नारायण चोक नजिकै पुगेपछि एक्कासी ढलपल गर्दै दाहिने लेनमा पुग्यो। जसमा चालक थिए, हेटौंडा(१० का राजु थिङ। दुर्घटनामा उनले पनि ज्यान गुमाए। ईभीमा सवार घाइते यात्रुले प्रहरीलाई दिएको जानकारी उदृत गर्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख गायत्रीराज शर्माले भने, ‘अगाडी एउटा ट्रक आफ्नै स्पिडमा कुदिररहेको थियो। सोही ट्रकलाई ओभरटेक गर्न इभीका चालकले आफ्नो गाडीको स्पिड बढाए। यत्तिकैमा हुइकिएर आएको बसमा ईभी भ्यान ड्याम्मै ठोकिँन पुग्यो।’
दुर्घटनामा परेर भ्यानका चालक थिङसहित ७ जनाको मृत्यु भयो। जसमा एक गर्भवती महिलासहित एकै परिवारका ३ जनाले ज्यान गुमाए। दुर्घटनामा हेटौँडा उपमहानगरपालिका ५ कि ५३ वर्षीया मैंयाकुमारी न्यौपाने पहाडी, उनका ३५ वर्षीय छोरा सरोज पहाडी र गर्भवती बुहारी २७ वर्षीया रेनुका कँडेल, हेटौंडा ४ का ५५ वर्षीय सोमप्रसाद रूपाखेती, रौतहटको चन्द्रनिगाहपुर ६ की ३१ वर्षीया सिता कुमारी, भ्यान चालक हेटौंडा १० का राजु थिङ र लमजुङको बेसीसहर ३ घर भई हाल भरतपुर ६ चोकबजार बस्ने पूर्णकुमारी खड्काको दुर्घटनामा मृत्यु भयो।
यो दुर्घटनामा नयाँ सन्तानलाई संसार देखाउन अस्पताल हिडेँकी एउटी आमा आफैँले संसारबाट बिदा लिनु पर्यो। घरमा रहेकी चार वर्षीया छोरी (रिद्या) लाई नयाँ सानुमान्छे (भाइ) लिन जान लागेको भनेर फकाएर रेनुका पति र सासुआमासँग अस्पताल जाँदै थिइन्। पति, सासु र जन्मने तयारीमा रहेको पेटको बच्चासहित उनी अब कहिल्यै नफर्कने गरी बिदा भएकी छन्। एउटै घटनामा आमाबुवा र हजुरआमा गुमाएकी चार वर्षीया बालिकालाई अहिले मावलीले जिम्मा लिएका छन्।
बालिका (रिद्या पहाडी) का मावली तर्फका हजुरबुवा महोत्तरीको बर्दिबास निवासी केदार कोइरालाले नेपालखबरसँग भने, ‘हामीले एउटै घटनामा पेटको बच्चासहित चारजना आफन्त गुमाऔँ। दुर्घटनामा आमाबुवाको मृत्यु हुँदा चार वर्षीया नातिनी टुहुरी भएकी छन्। घरमा हेरचाह गर्ने कोही नभएपछि उनलाई हामीले हिजो (आइतबार) यतै (बर्दिबास) लिएर आएका छौँ।’
रिद्यालाई यसैवर्ष आमाबुवाले घर नजिकैको स्कुलमा भर्ना गरेका थिए। उनलाई आमाबुवाले ‘हामी भाइ लिएर आउँछौँ, तिमी घरमै बस है’ भनेर फकाएर अस्पतालतिर लागेका थिए। ‘भान्जी (रेनुका) सानै हुँदा ज्वाइँ बित्नुभयो। उनलाई बहिनी (आशा)ले हाम्रै साथ सहयोगमा हुकाएकी थिइन्,’ कोइरालाले भने, ‘एउटा चालकले लापरबाही गर्दा सानी नानी टुहुरी बन्नुपर्यो।’