इरानलाई आणविक हतियार दिन रूस तयार
काठमाडौं – अमेरिकाले इरानका तीन आणविक केन्द्रहरूमा आक्रमण गरेपछि पश्चिम एसियामा तनाव चरम सीमामा छ । अमेरिकी आक्रमणप्रति अधिकांशले मुख खोलेरै विरोध गरेका छन् ।
धेरै देशहरूले इरानप्रति सहानुभूति व्यक्त गरेका छन् । अमेरिकी आक्रमणपछि कस्तो प्रतिक्रिया दिने भन्ने टुंगोमा इरान पुगिसकेको छैन । यहीबिच इरानले सहयोगी देशहरूसँगको संवादलाई बढावा दिएको छ ।
इरानका विदेशमन्त्री अब्बास अराघचीले सोमबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई भेट्ने तयारी गरेका छन् । अमेरिकी आक्रमणको कडा शब्दमा विरोध गरेका पुटिनसँग सहयोग लिनेगरी इरानी विदेशमन्त्री जान लागेका हुन् ।
‘रुस इरानको मित्र राष्ट्र हो। हामी सधैं एकअर्कासँग परामर्श गर्छौं । म मस्को जाँदैछु र भोलि बिहान रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग गम्भीर मुद्दाहरूमा छलफल हुनेछ’, अराघचीले भनेका छन् ।
पूर्व रुसी राष्ट्रपति र राष्ट्रपति भ्लादिमिर पुटिनका नजिकका सहयोगी दिमित्री मेदवेदेवले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई अर्को युद्ध सुरु गरेको आरोप लगाएका छन् । मेदवेदेवले सामाजिक सञ्जालमा सेयर गरिएको पोस्टमा लेखेका छन् कि ‘ट्रम्प शान्ति निर्माताको रूपमा आएका थिए, तर उनले अमेरिकालाई नयाँ युद्धमा धकेलेका छन्।’
मेदवेदेवले यो पनि लेखेका छन् कि धेरै देशहरू छन् जो इरानलाई आफ्नो आणविक हतियार दिन तयार छन्। यद्यपि, मेदवेदेवले ती देशहरूको नाम लिएका छैनन् । पूर्व रुसी राष्ट्रपतिले भने कि इजरायली जनता आक्रमणको निरन्तर डरमा बाँचिरहेका छन् र इजरायलमा बम विस्फोट भइरहेका छन्। उनले भने कि इरानमा अमेरिकी आक्रमणले इरानलाई बलियो बनाउने मात्र होइन तर विश्वभर इरानको समर्थन पनि बढाउनेछ।