यस्ता छन् भिजाएको ओखर खानुका फाईदा

मंगलबार, १० असार २०८२

काठमाडौं— बढ्दो तनाव, असन्तुलित खानपान र निष्क्रिय जीवनशैलीका कारण हाल विश्वभरि मधुमेह (डायबेटिज) एक प्रमुख स्वास्थ्य समस्या बनेको छ।

नेपालमा पनि मधुमेहका बिरामीको संख्या दिनप्रतिदिन बढ्दो क्रममा छ । यस रोगको नियन्त्रणमा औषधिसँगै जीवनशैलीमा सुधार र सही आहार–विहारको ठूलो भूमिका रहन्छ। यस्तैमा, स्वास्थ्य विज्ञहरू भन्छन्— “भिजाएको ओखर नियमित सेवनले ब्लड सुगर सन्तुलनमा राख्न सहयोग पुर्‍याउँछ।”

ओखरलाई नेपाली समाजमा मुख्यतः चाडपर्वका समयमा खाने सुकुटी वा ड्राइफ्रुटको रूपमा चिनिन्छ। तर ओखरको वैज्ञानिक महत्व अझ गहिरो छ। यसमा पाइने ओमेगा—३ फ्याटी एसिड, एन्टिअक्सिडेन्ट, प्रोटिन, फाइबर र भिटामिन—ई लगायतका तत्त्वहरूले यसलाई सुपरफुड बनाएको छ।

विशेषगरी मधुमेह पीडितका लागि ओखर अत्यन्त उपयोगी मानिन्छ। अध्ययनहरूले देखाएका छन् कि ओखरमा भएको अल्फा—लिनोलेनिक एसिड, म्याग्नेसियम र फाइटोकेमिकल्सले रक्तमा चिनीको मात्रा नियन्त्रणमा राख्न सघाउँछ।

ओखरलाई राति पानीमा भिजाएर बिहान खाली पेट खाँदा यसले शरीरमा सजिलै पच्ने र पोषक तत्व सोसिने गर्दछ। भिजाएको ओखरको छाला हटाएर खानु अझ फाइदाजनक मानिन्छ, जसले पेटसम्बन्धी समस्याहरूमा पनि राहत दिन्छ।

ब्लड सुगर नियन्त्रणमा ओखरको भूमिका

१) इन्सुलिनको कार्यसम्पादनमा सुधार
ओखरले इन्सुलिन प्रतिरोध घटाउने काम गर्छ, जसले शरीरमा इन्सुलिन राम्रोसँग काम गर्न थाल्छ। मधुमेहको मुख्य कारण नै इन्सुलिनको असन्तुलन हो।

२) ब्लड सुगरको स्तर घटाउने
ओखरमा भएको उच्च फाइबरले खाना बिस्तारै पच्न मद्दत गर्छ, जसले रक्तमा चिनीको स्तर एक्कासि बढ्न दिंदैन।

३) पेट भर्ने अनुभूति
ओखर खाँदा लामो समयसम्म पेट भरिएको महसुस हुन्छ, जसले अत्यधिक खानपानमा रोक लगाउँछ। यसले तौल नियन्त्रणमा सघाउँछ, जुन मधुमेह नियन्त्रणका लागि महत्वपूर्ण पक्ष हो।

अमेरिकाको युनिभर्सिटी अफ क्यालिफोर्नियाले गरेको एक अध्ययन अनुसार, दैनिक ३० ग्राम ओखर सेवन गर्ने व्यक्तिमा दुई महिनापछि ब्लड ग्लुकोज स्तरमा उल्लेखनीय सुधार देखिएको थियो। त्यस्तै, भारतको आयुर्वेद अनुसन्धान परिषद् ले समेत ओखरलाई मधुमेह नियन्त्रणमा प्रभावकारी बताएको छ।