तीन दिनसम्म लगातार पानी पर्ने

शनिबार, १४ असार २०८२

काठमाडौँ – शनिबार बेलुकादेखि तीन दिनसम्म लगातार पानी पर्ने भएको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार असार १४ गते बेलुकादेखि १६ गते विहानसम्म पानी पर्ने भएको हो ।

बर्षापछि बाढी, पहिरोको खोखिम हुने भएकाले आवश्यक सतर्कता अपनाउन तथा पूर्व तयारी गर्न महाशाखाले अनुरोध गरेको छ । महाशाखाले कर्णाली, लुम्बिनी, गण्डकी र मद्येश प्रदेशमा पानी पर्ने सम्भावना अत्यधिक भएकाले सतर्कता अपनाउन अनुरोध गरेको छ ।

यता, बाढी पूर्वानुमान महाशाखाले पनि बाढीबारे सतर्कता सूचना जारी गरेको छ। बाढी महाशाखाका अनुसार आज बागमतीलगायत देशका ठूला नदी आसपास तथा काठमाडौँसहित ४७ जिल्लामा सतर्कता अपनाउन आवश्यक छ।

आज कोसी, नारायणी, कर्णाली, महाकाली र यसका प्रमुख सहायक नदीहरूका साथै कन्काई, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीको जलसतह सतर्कता तह तलै रहने अनुमान भए पनि बढ्न सक्ने सम्भावना रहेकाले नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन महाशाखाले सुझाव दिएको छ।

अनि जिल्लाका हिसाबले आज काठमाडौँ, ललितपुर, भक्तपुर, बागलुङ, म्याग्दी, पर्वत, बैतडी, दार्चुला र आसपासका जिल्ला भई वहने केही ससाना नदीको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम देखिएकाले उक्त जिल्लाका नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आवश्यक रहेको बाढी महाशाखाको भनाइ छ।

साथै आज संखुवासभा, ताप्लेजुङ, दोलखा, सिन्धुपाल्चोक, गोरखा, लमजुङ, तनहुँ, मकवानपुर, काभ्रेपलाञ्चोक, सिन्धुली, गुल्मी, पाल्पा, अर्घाखाँची, रुकुमपश्चिम, रोल्पा, सल्यान, प्युठान, जाजरकोट, कालिकोट, दैलेख, अछाम, सुर्खेत, डडेलधुरा, डोटी, बझाङ, कैलाली, कञ्चनपुर र आसपासका जिल्ला भई वहने केही ससाना नदीको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम देखिएकाले उक्त नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ।

उल्लिखित ३५ जिल्लामा आज खोलारनदीका साथै पहिरोग्रस्त क्षेत्रमा पनि उच्च सावधानी आवश्यक रहेको बाढी महाशाखाले जनाएको छ। यसैगरी झापा, इलाम, पाँचथर, सोलुखुम्बु, रामेछाप, भोजपुर, नुवाकोट, धादिङ, रौतहट, रुकुमपूर्व, दाङ, बर्दिया र आसपासका जिल्ला भई वहने केही ससाना नदीको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको सामान्य जोखिमको अनुमान रहेकाले उक्त नदी तटीय क्षेत्रमा सामान्य सतर्कता अपनाउन महाशाखाले सुझाव दिएको छ।