निशुल्क रहेको डिभी चिठ्ठा भर्न अब पैसा तिर्नुपर्ने
काठमाडौं—निशुल्क रहेको डिभी चिठ्ठा भर्न पैसा तिर्नुपर्ने भएको छ । अमेरिकी संसदमा पेस भएको नयाँ विधेयकले आवेदन दर्ता गर्न मात्रै २५० अमेरिकी डलर प्रवेश शुल्क तिर्नुपर्ने व्यवस्था गरेको छ । विद्येयकमा लोटरीमा नाम परेपछिको भिसा प्रक्रिया शुल्क पनि ३३० डलरबाट बढाएर ४०० डलर पुर्याउने प्रस्ताव गरिएको छ । डिभी भर्दा पैसा तिर्नुपर्ने व्यवस्थाले निम्नआयस्तर भएका देशका नागरिक मर्कामा पर्नेछन् ।
यसले डिभी लटरी प्रक्रिया अझै महँगो र चुनौतीपूर्ण बनाउन सक्छ, विशेषगरी नेपाल जस्ता विकासोन्मुख देशका लागि, जहाँ थुप्रै आवेदकले यसलाई जीवन बदल्ने अवसरको रूपमा हेर्दै आएका छन्।
अमेरिकी प्रतिनिधि सभामा पेस भएको ‘बिग ब्युटिफोल बोर्डर सेक्युरिटी एक्ट’ नामक विधेयकको एउटा अध्यायमा यो शुल्क समावेश गरिएको हो।
यस प्रस्तावका समर्थकहरूले भन्छन् – अमेरिकाको सीमा सुरक्षा सुदृढ गर्न र भिसा प्रणालीलाई थप जिम्मेवार बनाउन यस्तो कदम आवश्यक छ।
तर, विरोधीहरूले भने यो डिभीको मूल मर्म – विविधता र समान अवसर समाप्त गर्ने नीति भएको भन्दै आलोचना गरेका छन्। उनीहरूका अनुसार, शुल्क बढ्दा आर्थिक रूपमा कमजोर, तर योग्य र योग्यतापूर्ण आवेदकहरू छानिनै नसक्ने हुन्छन्।
शुल्क मात्र होइन, डिभी लोटरी नै पूर्णरूपमा बन्द गर्ने अर्को विधेयक पनि संसदमा दर्ता भएको छ। ‘बिग ब्युटिफूल बोर्डर सेक्युरिटी एक्ट २०२५’ नामक विधेयकको एउटा अध्यायमा यो प्रस्तावका मुख्य प्रवर्तक सांसद माइक कोलिन्सले डिभी लोटरीलाई ‘अमेरिकाको सुरक्षाका लागि खतरा’ भन्दै भाग्यको भरमा ग्रीनकार्ड वितरण गर्न नहुने तर्क प्रस्तुत गरेका छन्।
यदि यो प्रस्ताव कानुनका रूपमा पारित भयो भने, हरेक वर्ष करिब ५५ हजार नयाँ ग्रीनकार्ड बाँड्ने डिभी कार्यक्रम नै बन्द हुनेछ – जसले अमेरिका आउने आप्रवासीहरूको विविधता घट्ने मात्र होइन, प्रवासी नेपाली समुदायको ठूलो सपना पनि चकनाचुर हुने निश्चित छ।
न्यूनतम योग्यतामा माध्यमिक शिक्षा वा दुई वर्ष कार्य अनुभव पुरानै सर्त कायमै छन्। लटरी केवल कागजको टुक्रा होइन – यो लाखौँ नेपाली परिवारको जीवन बदल्ने अवसर पनि हो।
तर अमेरिकी राजनीतिमा चलिरहेका यी परिवर्तनहरूले यो अवसर अझै महँगो र अप्ठ्यारो बनाउने संकेत देखिएको छ। अब आउने केही महिना भित्रे डिभी लटरीको भविष्य तय गर्ने निर्णायक क्षण हुनेछ।