नेपालमा भिजिट भिसाको सेटिङ भत्किएपछि दिल्लीबाट धन्दा

सोमबार, १६ असार २०८२

काठमाडौँ – नेपालमा भिजिट भिसाको सेटिङ भत्किएपछि दलालहरु दिल्लीतीर सरेका छन् । अख्तियारको छापापछि सेटिङ भत्किदा भिजिट भिसामा जानेहरू भारतको नयाँ दिल्ली हुँदा विदेशीन थालेका छन् ।

विचौलियाले नो अब्जेक्सन लेटर (एनओसी) पत्र सक्कली हुन् कि नक्कली हुन् भनेर खुट्याउन नसक्दा नयाँ दिल्लीको इन्द्रीरागान्दी विमानस्थल प्रयोग गर्न थालेका छन् ।

नेपालमा भिजिट भिसा प्रकरण बाहिरिएपछि नेपालीलाई बेच्ने काम भारतको दिल्ली एयरपोर्टदेखि शुरु हुन थालेको चर्चा छ  । यसरी भिजिट भिसामा जानेहरूले एनओसी (नो अब्जेक्सन लेटर) प्रयोग गरेका छन् भने त्यस्ता पत्र सक्कली हुन् कि नक्कली हुन् भनेर खुट्याउन थालिएको छैन ।

यसरी जानेले दिल्लीस्थित नेपाली दूतावासका नाममा नक्कली एनओसी बनाउने गरेको दाबी स्रोतको छ । भिजिट भिसामा जाने व्यक्तिले लाने प्रमाण पनि र नक्कली पत्रको कुनै प्रतिलिपि वा डुप्लिकेट पनि नहुने भएकाले मुद्दाका लागि कुनै प्रमाण बाँकी नरहने अवस्था छ । यसै कारण भिजिट भिसामा मान्छे पठाउन सहज हुँदै आएको दावी स्रोतको छ ।

अध्यागमनको काम भनेको भिजिट भिसामा जाने विशेष गरी महिला कालोसूचीमा परेको हो कि होइन, ऊसँग अनुमति पत्र छ छैन भन्ने मात्रै जाँचबुझ र सोधपुछ गर्ने हो । शरीर खानतलासी गर्ने कुरा भएन । नेपालको एयरपोर्टमा अनेक फत्तुर हाल्दै दुःख दिएर पैसा असुलेपछि मात्रै विदेश जान दिने चलन बस्यो । यसैकारण धेरै नेपाली महिला भारत हुँदै स्थलमार्गबाट विदेश जान थाले । र, त्यसरी गएका महिलाको रेकर्ड नेपालसँग छैन । नेपाल सरकारले राजश्व पनि प्राप्त गर्न सकेको देखिन्न ।

यसैकारण फ्लाई दबई, जजिरा, नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्सबाट यात्रा गर्ने यात्रुको संख्यामा निकै कमी भएको छ । पहिला–पहिला यी विमानका पूरै सिट भरिन्थे भने अहिले मुस्किलले ४० देखि ५० प्रतिशत सिट मात्रै बिक्ने गरेको छ । खाली सिटका कारण सोध भर्ना गर्दै उडान गर्नुपर्दा अन्य यात्रुलाई आर्थिक भार र मार परेको अवस्था छ ।