फोनपेसंगको सहकार्यमा कुमारी बैंकको ‘भर्चुअल क्रेडिट कार्ड’ सेवा सुरु
काठमाडौँ – कुमारी बैंक लिमिटेडले डिजिटल बैंकिङ्ग प्रवर्द्धनका क्रममा नयाँ नवप्रवर्तन थप गर्दै ‘कुमारी भर्चुअल क्रेडिट कार्ड’ सेवा सुरु गरेको छ ।
बैंकले यो सेवा फोनपे पेमेन्ट सर्भिस लिमिटेडसँगको सहकार्यमा सुरु गरेको हो, जसअन्तर्गत ग्राहकहरूले मोबाइल बैंकिङ्ग एप ‘कुमारी स्मार्ट’ प्रयोग गरी डिजिटल कार्डमार्फत कारोबार गर्न सक्नेछन् ।
भर्चुअल क्रेडिट कार्ड भौतिक कार्ड नभई पूर्णतः डिजिटल माध्यमबाट उपलब्ध हुने सुविधा हो । ग्राहकले उक्त कार्ड मोबाइल एपमार्फत तत्कालै सक्रिय गरी फोनपेको क्यूआर मर्चेन्टहरूमा सहज रूपमा भुक्तानी गर्न सक्नेछन् ।
बैंकका अनुसार ग्राहकहरूले सो कार्डमार्फत अधिकतम ४५ दिनसम्म ब्याजबिना सेवा उपभोग गर्न सक्नेछन्। (शर्तसहित) यस्तै, भुक्तानी गर्दा ग्राहकले सेटलमेन्टमा १० प्रतिशत वा १०० प्रतिशत भुक्तानीको विकल्प चयन गर्न सक्ने व्यवस्था समेत गरिएको छ ।
बिगत २४ वर्षदेखि निरन्तर सेवा दिँदै आएको कुमारी बैंकले विद्युतीय कारोबारलाई प्राथमिकता दिँदै आफ्ना ३०२ शाखा, ३१८ एटिएम, ५० एक्सटेन्सन काउन्टर र ५४ शाखारहित बैंकिङ इकाइमार्फत सुरक्षित, अत्याधुनिक र प्रभावकारी सेवा प्रदान गर्दै आएको छ । ATM, POS तथा Green-PIN सुविधा विस्तार गर्नुका साथै Visa, Mastercard तथा UPI Card स्वीकार्यता देशभरकाATM, POS मा लागू गर्दै डिजिटल कारोबारको पहुँच बढाएको बैंकले आगामी दिनहरुमा पनि विद्युतीय कारोबारलाई प्रथमिकता दिई अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाहरु प्रदान गर्दै जाने समेत प्रतिबद्धता जनाएको छ ।