२ अर्ब ५० करोड बढी हिनामिनाको आरोपमा एमाले केन्द्रीय सदस्य पक्राउ
काठमाडौँ – कर्णाली विकास बैंक घोटाला आरोपमा तत्कालीन अध्यक्ष पशुपति दयाल मिश्र पक्राउ परेका छन्। मिश्रलाई बुधबार प्रहरीले बाँकेको नेपालगञ्जबाट बुधबार पक्राउ गरेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) का प्रवक्ता एसपी युवराज खड्काले जानकारी दिए।
मिश्र नेकपा (एमाले) का केन्द्रीय सदस्य हुन्। मिश्र २०७९ सालको स्थानीय तह निर्वाचनमा नेपालगञ्ज उपमहानगरपालिकाको मेयर पदका उम्मेदवार भई पराजित भएका थिए। मिश्र २०६६ सालदेखि २०७५ सालसम्म कर्णाली विकास बैंकको अध्यक्ष थिए।
कर्णाली विकास बैंकमा २ अर्ब ५० करोड भन्दा बढी रकम हिनामिना भएको सिआइबीको निष्कर्ष छ। सोही प्रकरणमा प्रहरीले यसअघि कर्णाली डेभलपमेन्ट बैंकका तत्कालीन सञ्चालक ६५ वर्षीय राजेन्द्रवीर रायलाई पक्राउ गरेको थियो। उनी उक्त बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृतसमेत थिए।