सुर्य थापालाई पुरस्कार स्वरुप मन्त्री पद उपहार दिदै ओली

आइतबार, २२ असार २०८२

काठमाडौं – रवि लामिछानेलाई जेल पठाउन मुख्य भुमिका खेलेका सुर्य थापा मन्त्री बन्ने भएका छन् । सहकारी छानविन समितिको संयोजक बनेर रविमाथि अनुसन्धान गर्नुपर्ने प्रतिवेदन दिएका थापालाई प्रधानमन्त्री केपि शर्मा ओलीले पुरस्कार स्वरुप भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बनाउने भएका छन् ।

सरकारको एक वर्ष पूरा भएपछि जसपा र लोसपाले आफ्ना मन्त्रीहरु फिर्ता बोलाएर उनीहरुको ठाउँमा नयाँ मन्त्री पठाउने समझदारी गरेपछि थापाको नाम चर्चामा आएको छ । अहिले जसपाबाट प्रदीप यादव खानेपानी मन्त्रीको जिम्मेवारीमा छन् भने नवलकिशोर सुडी महिला तथा बालबालिकामन्त्रीको जिम्मेवारी छन् ।

लोसपाबाट भने शरदसिंह भण्डारी श्रममन्त्री छन् । जसपाले प्रदीप र नवलकिशोरलाई फिर्ता बोलाएर डा. वीरेन्द्र प्रसाद महतो र रञ्जु झालाई पठाउने भएको छ । उता, लोसपाले भने भण्डारीलाई फिर्ता बोलाएर सर्वेन्द्रनाथ शुक्लालाई पठाउने भएको छ । आफ्नो मन्त्री बोलाउने र नयाँ मन्त्री पठाउने विषयमा लोसपाका अध्यक्ष महन्थ ठाकुरले पनि छिट्टै प्रधानमन्त्री ओलीसँग भेट गर्ने भएका छन् ।

जसपा र लोसपाले मन्त्रीहरु फिर्ता बोलाएर नयाँ सेट पठाउने भएपछि प्रधानमन्त्री ओलीले पनि आफ्ना दलका केही मन्त्रीहरुलाई फिर्ता बोलाउने र उनीहरुको ठाउँमा नयाँ मन्त्रीहरु भित्र्याउने तयारी गरेको उच्चस्रोतको दाबी छ । प्रधानमन्त्री ओली युवा पँक्तिलाई नेतृत्वमा पुर्याउने नेताको रुपमा परिचित छन् ।

सहकारी छानबिन समितिको संयोजक भएर रविलाई जेल पठाउन भूमिका खेलेको भन्दै ओलीले मन्त्रिपरिषद् पूनर्गठन हुँदा सूर्य थापालाई पहिलो नम्बरमा राखेका छन् ।
प्रधानमन्त्री ओलीको रक्षाकवजको रुपमा चिनिने थापालाई सहकारी मन्त्रालयको नेतृत्व सुम्पिने तयारी भएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको नेतृत्वमा बलराम अधिकारी छन् ।

अब अधिकारीलाई रिप्लेस गरेर थापालाई सो मन्त्रालयको नेतृत्व सुम्पिने गाईंगुईं चल्न थालेको छ । थापा प्युठानबाट निर्वाचित सांसद हुन् । उनी संसद्मा समेत जनताको आवाज बुलन्द पार्ने सांसदको रुपमा चिनिएका छन् । पत्रकारिता ब्याकग्राउण्डबाट आएका थापा मिडियाले समेत सर्वाधिक खोजिने नेताको रुपमा पर्छन् ।