काठमाडौँका मेयर बालेन शाह पनि उपनिर्वाचनमा सहभागी हुने
काठमाडौँ – काठमाडौँका मेयर बालेन शाह पनि उपनिर्वाचनमा सहभागी हुने भएका छन् । आगामी कात्तिकमा रुपन्देही ३ मा हुने उपनिर्वाचनमा बालेनले आफ्ना खाध्य सल्लाहकार सन्तोष गिरीलाई अगाडि सारेर भिड्न लागेका छन् ।
रुपन्देहीको तिलोत्तमा नगरपालिका ६ पश्चिमपहुनीका ३३ वर्षीय गिरी विगतमा विद्यार्थी राजनीतिबाट आएका हुन् । उनी एमालेनिकट अनेरास्ववियु रुपन्देहीको सहसचिव बनेका थिए । हाल उनी काठमाडौंका मेयर मेयर बालेनको सल्लाहकार टीममा छन् । उनी बालेनको खाद्य सल्लाहकार हुन् । साथै, नेपाल स्वीस चेम्बर अफ कमर्शको प्रमुख कार्यकारी अधिकृतका रूपमा काम गरिरहेका छन् । गिरीले अर्थशास्त्रमा एमएको साथै एलएलबी गरेका छन् ।
रास्वपाबाट उठ्ने हल्ला गर्दै आएका सागर ढकालको समेत समर्थन लिएर उम्मेदवारी दिने गिरीको योजना छ । यस्तै, स्वतन्त्रबाट धनगढीको मेयर जितेका गोपी हमालदेखि कुलमान घिसिङसमेतको साथ लिने भनेर समेत प्रचार गरिएको छ । छिट्टै उम्मेदवारी घोषणा गर्ने गिरीको तयारी छ । यही सिलसिलामा उनी निकट केही व्यक्तिहरु रुपन्देही पुगीसकेका छन् ।
०७९ को निर्वाचनलगत्तै बालेनको सल्लाहकारको भूमिकामा रहेको गिरी बताउँछन् । ‘निर्वाचनपछि मेयर सा’पको सल्लाहकारको टीममा छु, विषयगत सल्लाह उहाँको प्राथमिकतामा पर्दछ,’ उनले भने । गिरीसँगै खाद्य तथा गुण नियन्त्रण विभागकी पूर्वडीजी जीवन प्रभा लामा, सेफ सन्तोष साह बालेनको खाद्य सल्लाहकार टिममा छन् ।
बालेनका आइटी विज्ञ सुदीप ढकाल पनि भैरहवाकै हुन् । त्यसैगरी भैरहवाका सुनील लम्साललाई बालेनले पूर्वाधार सल्लाहकारसँगै फोहरमैला व्यवस्थापनको सम्पूर्ण जिम्मा दिएका छन् । ‘०८४ मा सहकार्य गर्नेगरी हाम्रो टीमबाट अगाडि सारिएका उम्मेदारलाई रास्वपाले सहयोग गर्ने कुरामा हामी विश्वस्त छौं, नयाँ शक्ति लडेर जित्न सजिलो छैन, त्यसमाथि रास्वपामा बलियो उम्मेदरवाको तयारी पनि देखिँदैन’, गिरीको टीमका एक सदस्यले भने ।
राप्रपाले गुमाएको यो क्षेत्र सुरक्षित गर्न सो पार्टीबाट दीपक बोहराका दुई छोरा गौरव र प्रज्ज्वल तथा नातिनी स्वाती थापामध्ये एकको चर्चा छ । गौरवलाई रास्वपाले समेत आँखा लगाएको छ । कांग्रेस र एमालेमा पनि आकांक्षीहरूले दौडधुप बढाए पनि सिफारिस प्रक्रिया अघि बढेको छैन । माओवादी र नेकपा एसबाट पनि केही नाम चर्चामा छन् । मधेशकेन्द्रित दलको पनि प्रभाव रहेको यहाँ साझा उम्मेदवारको सहमति गरिएपनि तयारी देखिन्न ।
२०७९ को चुनावमा रुपन्देही ३ मा समानुपातिकतर्फ नेपाली कांग्रेसले २० हजार २७८, एमालेले १६ हजार ९८६ मत, रास्वपाले १४ हजार १५४, राप्रपाले ९ हजार १८३ मत आएको थियो ।