चीनले पठायो भोटेकोशी र सुनकोशी नदीमा ठूलो बाढी आउनसक्ने सन्देश

मंगलबार, २४ असार २०८२

काठमाडौँ – चीनले भोटेकोशी र सुनकोशी नदीमा ठूलो बाढी आउनसक्ने सन्देश पठाएको छ । चीनको सन्देशपछि जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले नदी आसपासका क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ।

तिब्बत क्षेत्रको न्यालममा लगातार भारी वर्षा भइरहेको भन्दै चिनियाँ अधिकारीहरूले अझै बढी वर्षा हुन सक्ने सम्भावना रहेको भन्दै सूचना दिएको थियो ।

मंगलबार एक सूचना जारी गर्दै नदी आसपास क्षेत्रका बासिन्दाहरूलाई सतर्कता अपनाउन र अरनिको राजमार्ग (बन्देउ देखि लिपिङ) मा सवारी साधन चलाउँदा समेत सतर्कता अपनाउन आग्रह गरिएको छ ।

सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी गणेश नेपालीका अनुसार चीनको तिब्बत क्षेत्रको न्यालममा वर्षा भइरहेको र आज राति बढी वर्षा हुन सक्ने सम्भावना रहेको भनी चिनियाँ अधिकारीबाट सूचना प्राप्त भएको थियो ।