प्रधानमन्त्री ओलीमाथि पनि मानव तस्करी गरेको आरोप
काठमाडौँ – प्रधानमन्त्री केपि शर्मा ओलीमाथि पनि मानव तस्करी गरेको आरोप लागेको छ । प्रतिनिधिसभा बैठकमा रास्वपा सांसद सोविता गौतमले प्रधानमन्त्रीसँग स्पेन भ्रमणमा गएका केही व्यक्ति नफर्किएको समाचार आइरहेको भन्दै यस्तो आरोप लगाएकी हुन् ।
साथै, उनले यो विषयमा छानविनको मागसमेत गरेकी छन् । जवाफमा एमालेका मुख्य सचेतक महेशकुमार बर्तौलाले प्रधानमन्त्रीको साथमा गएर नफर्कनको नामबारे सार्वजनिक गर्न सांसद गौतमलाई चुनौती दिएका छन् ।
आज प्रतिनिधिसभा बैठकमा रास्वपा सांसद सोविता गौतमले स्पेन भ्रमणमा गएका केही व्यक्ति नफर्किएको समाचार आइरहेको भन्दै त्यसबारे सरकारको ध्यानाकर्षण गराएकी थिइन् । त्यसको जवाफमा एमालेका मुख्य सचेतक महेशकुमार बर्तौलाले प्रधानमन्त्रीको स्पेन भ्रमणलाई लिएर संसदमा भ्रमपूर्ण कुरा गरिएको भन्दै आपत्ति जनाए ।
प्रधानमन्त्रीको साथमा गएर नफर्कनको नामबारे संसद्लाई जानकारी गराउन उनले सांसद गौतमलाई चुनौतीसमेत दिएका छन् । बर्तौलाले उक्त कुरा संसदको रेकर्डबाट हटाउनसमेत माग गरे । यता, सरकारप्रति उठेका विषयलाई दलका सांसदले जवाफ दिएको भन्दै माओवादीले अर्को आपत्ति जनाएको छ । सो पार्टीका प्रमुख सचेतक हितराज पाण्डेले सांसदले सरकारसँग माग गरेको प्रश्नको जवाफ सरकारकातर्फबाट प्रधानमन्त्री र मन्त्रीहरूले नै दिनुपर्ने बताए ।