अबदेखि साना–ठूला सबै व्यापारीले ग्राहकलाई अनिवार्य बिल दिनुपर्ने
काठमाडौं – अबदेखि बिल अथवा रसिद जारी नगर्ने व्यवसायीलाई कारबाही हुने भएको छ । आगामी आर्थिक वर्ष २०८२र८३ देखि डिलर, खुद्रा तथा थोक व्यवसायीहरूले वस्तु तथा सेवाको बिल अथवा रसिद अनिवार्य रूपमा जारी नगरेमा वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कारबाही गर्ने भएको हो ।
विभागले असार २० गते सार्वजनिक सूचना प्रकाशित गरेर बिक्री गरेको वस्तु तथा सेवाको बिल वा रसिद जारी गर्न निर्देशन दिएको छ । साउन १ गतेदेखि कुनै पनि बिक्री गरेको वस्तु वा सेवाको बिल वा रसिद अनिवार्य नगरेमा कारबाही गर्ने विभागले चेतावनी दिएको छ ।
विभागका अनुसार बिक्रेताले बिक्री गरेको वस्तुको बिल वा रसिद क्रेतालाई अनिवार्य रूपमा वस्तु बिक्री गरेकै बखत उपलब्ध गराउनुपर्नेछ । यदि क्रेतालाई बिल वा रसिद उपलब्ध नगराएमा तत्काल जरिवाना गर्ने विभागका महानिर्देशक कुमारप्रसाद दहालले बताएका छन् । उपभोक्ताले खरिद गरेको वस्तुको बिल वा रसिद अनिवार्य रूपमा उपलब्ध गराउने व्यवस्था कडाइका साथ लागू गरिने उनको भनाइ छ ।
‘कुनै पनि वस्तु खरिद गरिसकेपछि बिक्रेताले बिल जारी गर्नुपर्छ । अहिलेसम्म खुल्ला बजार भनेर जेजस्तो गरे पनि अब अनिवार्य रूपमा सबैले बिल वा रसिद जारी गर्नुपर्नेछ’, महानिर्देशक दाहालले भने, ‘साउन १ गतेदेखि सानो–ठुलो सबै व्यवासायीले बिल वा रसिद जारी गर्नै पर्नेछ । यदि गरेनन् भने विभागले ठाउँको ठाउँ नगद जरिवाना गराउँछ ।’
यसअघि नै विभागले प्रत्येक वस्तुमा अधिकतम खुद्रा बिक्री मूल्य अभियान शुरू गरिसकेको छ । हालसम्म विद्युतीय उपकरण, अटोमोबाइल्सका पार्टस, मेकअप सामाग्री, सिमेन्ट र छड, प्याकिङ वस्तुलगायतमा एमआरपी अनिवार्य गर्न सफल भएको विभागको भनाइ छ ।