साउथ इण्डियन मुभिका सुपरस्टार महेश बाबुलाई ठगी मुद्धा
काठमाडौं—साउथ इण्डियन मुभिका सुपरस्टार महेश बाबुलाई ठगी मुद्धा लागेको छ । एक घर जग्गा कम्पनीको ब्रान्ड एम्बेस्डर बनेका अभिनेता महेशलाई हैदराबादका एक डाक्टरले तेलंगानाको रंगा रेड्डी जिल्ला उपभोक्ता आयोगमा मुद्धा हालेका हुन् ।
साई सूर्य डेभलपर्स नामक रियल स्टेट कम्पनीबाट ३४ लाख ८० हजारमा घर किनेका ति डाक्टर घर नपाएपछि ठगीएका थिए । महेशलाई झण्डै ६ करोड दिएर ब्राण्ड एम्बेस्डर बनाएको उक्त कम्पनीले कुनै परियोजना बिनै विज्ञापन गरेको थियो ।
यस मुद्दामा महेश बाबुलाई तेस्रो प्रतिवादीको रूपमा समावेश गरिएको छ। हैदराबादका एक डाक्टरको उजुरीपछि तेलंगानाको रंगा रेड्डी जिल्ला उपभोक्ता आयोगले महेश बाबुलाई नोटिस पठाएको हो। ती डाक्टरले साई सूर्य डेभलपर्सबाट ३४ लाख ८० हजार रुपैयाँमा सम्पत्ति किनेको बताएकी छिन्। ठगीको कुरा बाहिरिएपछि, महिलाले पैसा फिर्ता मागिन् । तर आर्थिक कठिनाइको कारण देखाउँदै निर्माणकर्ताहरूले स—सानो किस्तामा १५ लाख रुपैयाँ मात्र फिर्ता गरे। निर्माणकर्ताहरूले पूरा पैसा फिर्ता नगरेपछि महिलाले उपभोक्ता अदालतमा उजुरी दर्ता गरेकी थिइन्।
अप्रिल २०२५ मा, प्रवर्तन निर्देशनालय (ईडी) ले साई सूर्य डेभलपर्स र सुराणा समूहसँग सम्बन्धित मनी लान्ड्रिंग मुद्दामा महेश बाबुलाई सोधपुछ गरेको थियो। अनुसन्धानबाट महेश बाबुलाई रियल इस्टेट कम्पनीमा सामेल हुँदा ५.९ करोड रुपैयाँ दिइएको पत्ता लागेको थियो ।
यसमध्ये ठुलो रकम नगदमा दिइएको थियो। यी दुवै मुद्दामा अनुसन्धानको लागि महेश बाबुलाई सोधपुछ गरिए पनि, दुवै मुद्दामा उनलाई अभियुक्त बनाइएको छैन। महेश बाबु हाल एसएस राजामौलीद्वारा निर्देशित एक शीर्षकविहीन फिल्मको छायाङ्कनमा व्यस्त छन्। यस फिल्ममा उनीसँगै प्रियङ्का चोपडा पनि देखिनेछिन्।