एमालेको नेतृत्व गर्न विद्या भण्डारीको क्षमता पुग्दैन : ओली

बिहिबार, १ साउन २०८२

काठमाडौँ – प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेको सक्रिय राजनीतिमा फर्किएको घोषणा गरेकी पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई नेतृत्व दिन नसकिने बताएका छन् । पत्रकार विजयकुमार पाण्डेसँग ‘दिशानिर्देश’ कार्यक्रममा बोल्दै ओलीले विद्यासँग कार्यकारी पदमा बसेर चलाएको अनुभव नभएकाले एमालेको नेतृत्व दिन नसकिने बताएका हुन् ।

‘विद्याजीको हकमा राजनीतिमा आउनुपर्छ भनेर पार्टीले ठानेको, मानेको अवस्था छैन । पार्टी काम छोडेर धेरै वर्ष बाहिर बस्नुभयो । उहाँसँग कार्यकारी पदमा बसेर चलाएको अनुभव पनि छैन । यसैले अहिले उहाँलाई एमालेको नेतृत्व हस्तान्तरण गर्न सक्ने अवस्था छैन’, ओलीले भनेका छन् ।

उनले विद्याले आफूसँग कुनै परामर्श नगरी राजनीतिमा आएको घोषणा गरेकाले यसबारे पार्टीले छिट्टै औपचारिक निर्णय लिने पनि बताएका छन् । ओलीले भण्डारीले राष्ट्रपति हुँदा राम्रो काम गरे पनि अहिले मर्यादा भुल्न खोजेको बताए । ‘विद्याजीले राष्ट्रपति छँदासम्म संविधानको रक्षक र पालकको भूमिकामा राम्रो काम गर्नुभयो । राष्ट्रपति सेनाको परमाधिपति हो । सबैको साझा पनि हो,’ ओलीले भने, ‘यसैले टिकाटिप्पणीबाट माथि रहनुपर्छ । टिकाटिप्पणीमा ओर्लनु बाञ्छनीय देखिँदैन ।’

ओलीले विद्याका लागि राजनीतिमा फर्किनु संवैधानिक र कानूनी प्रश्न नभएपनि नैतिक प्रश्न भएको बताए । ‘यो संवैधानिक प्रश्न होइन, कानूनी प्रश्न होइन । यो नैतिकताको प्रश्न हो । नैतिक मूल्यमा आधारित भएर बसाउनुपर्ने थिति हो’ ओलीले भनेका छन् । एकातिर राजावादी उफ्रिने अर्कोतिर आफ्नै दलले निर्णय गरेर पठाएको व्यक्तिले हठात् राजनीतिमा सक्रिय हुन खोजेको भन्दै ओलीले उचित निर्णय लिने बताएका छन् ।

‘राजतन्त्र पक्षधर उफ्रिरहेका छन् गणतन्त्र फाल्छु भनेर । अरुसँग थाहा छैन मसँग सरसल्लाह गर्नुभएन । पार्टीमा आधिकारिक सरसल्लाह भएन । पार्टीमा लिखित मौखिक केही भएन । यसैले पार्टीले बसेर यस सम्बन्धमा निर्णय गर्छ,’ ओलीले भने, ‘उहाँ आफ्नै हिसाबले राष्ट्रपति हुनु भएको हैन । उहाँ हामीले उम्मेदवार बनाएपछि राष्ट्रपति हुनुभएको हो । पार्टी छोड्नु भएर जानुभएको हो ।’

राष्ट्रपति देश र जनता र समाजप्रति मात्रै उत्तरदायी हुने र दलप्रति नहुने ओलीको भनाइ छ । ‘राष्ट्रपति देश, जनता र समाजवादी उत्तरदायी हुन्छ । अरुप्रति हुँदैन । साझा व्यक्तित्वको रूपमा उहाँ मर्यादित हुनुपर्ने हो,’ ओलीले भने, ‘तर कुनै पार्टीको सदस्य राष्ट्रपति हुन सक्दैन । हुनुअघि पार्टी परित्याग गर्ने, पार्टी छोडेर निष्पक्ष हुन्छ । राष्ट्रलाई अभिभावकत्व दिन्छु भनेर जान्छ । त्यही काम गर्छ ।’

यसअघि राष्ट्रपति हुँदा राजनीतिक गतिविधि भएको विषयलाई मानिदिए पनि राजनीतिमा ओर्लनु अनुचित भएको ओलीको भनाइ छ । ‘राष्ट्रपतिहरूले बेलाबखत राजनीतिक गतिवधि गरेजस्तो देखिन्छ । दललाई बोलाएर छलफल गरेको देखिन्छ । त्यो जरुरी थिएन । रामवरणजीले अलि बढी गर्नुभयो । त्यसलाई दलहरूले पनि मानेकै थिए,’ ओलीले भनेका छन्, ‘गणतन्त्तको मर्यादा कायम गर्नुपर्छ । किनकि राजा हटाएर उनको स्थानमा राष्ट्रपतिको व्यवस्था गरिएको हो ।’

ओलीले राष्ट्रपति राजनीतिमा फर्किने कुरा गणतन्त्रसँग प्रत्यक्ष सम्बन्ध राख्ने कुरा भएको प्रस्ट्याएका छन् । ‘यो गम्भीर प्रश्न हो । यो व्यवस्थासँग, सामाजिक सम्बन्धसँग राजनीतिक प्रणालीको मर्म र गणतन्त्रसँग प्रत्यक्ष सरोकार राख्ने विषय हो,’ ओलीले भनेका छन्, ‘राष्ट्रपति, देशको सबै अंगको प्रमुख हो ।’