प्रहरीका डिएसपी र इन्सपेक्टर दम्पत्ती मानव तस्करको फन्दामा

मंगलबार, १३ साउन २०८२

काठमाडौं—प्रहरीका डिएसपी र इन्सपेक्टर दम्पत्ती मानव तस्करको फन्दामा परेको खुलेको छ । प्रधानमन्त्री केपी शर्मा ओली सहभागी स्पेनको सेभिलामा आयोजित विकासका लागि वित्तपोषणसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन डिएसपी गंगाप्रसाद पौडेल र इन्सपेक्टर मञ्जु न्यौपाने दम्पत्ती तस्करीको च्यानल प्रयोग गर्दै स्पेन पुगेको खुलेको छ । सर्लाहीका पौडेल र अर्घाखाँचीकी न्यौपाने सर्वसाधारण नागरिकले प्रयोग गर्ने व्यक्तिगत राहदानीमार्फत स्पेन उडेको श्रोतले जनाएको ।

देशमा कर्मचारीको तलब सहज ढंगले जीवनयापन गर्न पर्याप्त नभएको गुनासो सुनिन्छ । राज्यकोष कर्मचारीका लागि महँगीअनुसार तलब वृद्धि गर्ने अवस्थामा नभए पनि सरकारले खाई आएको साविक भत्ता बढाएर केही हदसम्म थुमथुम्याएको छ । यद्यपि, कर्मचारी भत्तावृद्धिबाट सन्तुष्ट रहेको पाइँदैन । तर, नेपालकै दुई कर्मचारी भने कुस्त सम्पत्ति आर्जन गरेको झल्को दिने गरी सपरिवार देश—विदेश घुमी हिँडेको पाइएपछि प्रहरी मुख्यालय नक्साल अचम्ममा परेको छ ।

कुरा अघिल्लै हप्ताको हो । प्रधानमन्त्री केपी शर्मा ओलीको टोली स्पेनको सेभिलामा आयोजित विकासका लागि वित्तपोषणसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन असार १४ गते शनिवार स्पेनको म्याड्रिडतर्फ प्रस्थान गरेको थियो । प्रधानमन्त्री गएको कार्यक्रममा सहभागी हुने बहाना बनाएर मानवतस्करले मोटो रकम असुली थुप्रै कुरा व्यापक रूपमा निस्केपछि सरकारले छानबिन समिति गठन गरेको छ । छानबिनका क्रममा ती दुई भाग्यमानी लगेर उतै छाडेका गैरसरकारी निकायको मेजमानी खान स्पेन पुगेको पत्ता लागेको बारे प्रहरी मुख्यालयमा रिपोर्टिङ भएको छ ।

ती कर्मचारी अरु कोही नभएर प्रहरी निरीक्षक मञ्जु न्यौपाने र पति डिएसपी गंगाप्रसाद पौडेल (सिंहदरबार वृत्त) हुन् । सर्लाहीका पौडेल र अर्घाखाँचीकी न्यौपाने सर्वसाधारण नागरिकले प्रयोग गर्ने व्यक्तिगत राहदानी नम्बर पिए ०५४४०९८ र पिए ०५४३८६९ लिएर गत १५ गते स्पेन उडेका थिए । उनीहरू प्रधानमन्त्री गएको भोलिपल्ट बिहान कतार एयरको उडान क्युआर ६४९ बाट गएर २२ गते राति फिर्ता भएका थिए ।

उनीहरूलाई आयोजकले दुईतर्फी हवाई टिकट उपलव्ध गराएको र विमानस्थलदेखि होटलसम्म लिन जाने र पु¥याउने व्यवस्थासमेत मिलाएको पाइएको छ । उनीहरू पटक–पटक एकसाथ विभिन्न देशमा गएको रेकर्ड अनुसन्धान टोलीले हाईकमाण्डमा जाहेर गरेको खुल्न आएको छ । उनीहरू सन् २०२२ को जुलाईमा साधारण राहदानी बनाएको पाँच महिनापछि २ दिनका लागि दिल्ली भ्रमणमा एकसाथ निस्किएका थिए । उनीहरू नै २०८१ साउन २१ गते चीन गई २८ गते फिर्ता भएका थिए ।

त्यसअघि २०८० साउन ८ गते सिंगापुर प्याकेजमा गएका थिए । सिंगापुर जान एयर इण्डियाको उडानद्वारा दिल्लीको रुट प्रयोग गरेका उनीहरूले साउन १६ गते मलेसियाबाट फिर्ता हुँदा मलेसियन एयरको उडान रोजेका थिए । उनीहरू लगत्तै २०८० कात्तिक ४ संयुक्त अरब ईमिरेट्सका लागि प्याकेज टुरमा गएर कात्तिक ९ गते फिर्ता भए । नेपाल सरकारका कर्मचारी सामान्य जीवनयापनका लागि तलब अपुग भएर उकुसमुकुस भएको अवस्थामा सरकारकै सामान्य अधिकृतस्तरका कर्मचारी जोडी बाँधेर पटक–पटक विश्व सयर निस्कँदा लाग्ने खर्च कुन स्रोतबाट जोहो भयो सहस्यमय भएको अनुसन्धानमा खटिएका कर्मचारीले बताएका छन् ।