श्रीमती मारेर जेल गए, छुटेपछि गरे प्रेमिकाकी छोरीको हत्या

बिहिबार, १५ साउन २०८२

काठमाडौं— श्रीमती मारेर जेल गएका रामबाबुले छुटेर आउँदा प्रेमिकाको छोरीलाई मारेका छन् । धनुषाको क्षीरेश्वरनाथ नगरपालिका– ९, इच्छापुरका ३५ वर्षीय रामबाबु साहले आफूले प्रेम गर्दै आएकी महिलाले एकतर्फी प्रेम तोडेको आक्रोशमा छोरी अञ्जलीकुमारी यादवको कुखुरी प्रहार गरी हत्या गरेका हुन् । खुकुरी प्रहारबाट प्रेमिका र उनकी भतिजी घाइते भएको प्रहरीले जनाएको छ । प्रेम गरेबापत रामबाबुले आशालाई अटो रिक्सासमेत किनिदिएका थिए ।

प्रहरी नायब उपरीक्षक वरुणबहादुर सिंहका अनुसार, पक्राउ परेका रामबाबु साह यसअघि पनि हत्या मुद्दामा दोषी ठहर भई जेलसजाय भुक्तान गरिसकेका व्यक्ति हुन् । २०७१ सालमा आफ्नै जेठी श्रीमतीको हत्या गरेको अभियोगमा उनी पक्राउ परी झण्डै पाँच वर्ष जेल बसेका थिए । २०७७ सालमा जेलमुक्त भएपछि उनले दोस्रो विवाह गरेका थिए । तर, श्रीमती हुँदाहुँदै साह पछिल्लो समय आशा यादवसँग प्रेम सम्बन्धमा थिए ।

रामबाबु र आशाबीचको सम्बन्ध परिवारमा समेत खुलेपछि आशाले दूरी बढाउन सुरु गरेकी थिइन् । पछि रामबाबु र आशाले मिलेर जनकपुरधाममा डेरा लिएर बस्न थालेका थिए । प्रेम गरेको बापत रामबाबुले आशालाई अटो रिक्सासमेत किनिदिएका थिए । तर, केही समयअघि आशाले उक्त रिक्सालाई आफ्नो भाइको नाममा दर्ता गराइदिएकी थिइन् । त्यहीँबाट दुवै जनाबीच प्रेममा दूरी बढेको थियो । पछिल्लो समय आशाले उक्त डेरा परिवर्तन गरी आफ्नै श्रीमान् र छोरीसँग बस्न थालेकी थिइन् । आशाका श्रीमान् वैदेशिक रोजगारमा रहँदै आएका छन् ।

रामबाबुले फोन गर्दा आशाले प्रतिक्रिया नदिने, दूरी कायम गर्न खोज्ने र उनको श्रीमतीलाई समेत म्यासेज गरी झगडा गराउनेजस्ता व्यवहार देखिएपछि रामबाबु आक्रोशमा आएका थिए । घटनाको राति आशाले रामबाबुलाई फोनमा गाली गरेकी थिइन् । त्यसपछि रामबाबु खुकुरीसहित राति ११ बजे आशाको डेरामा पुगेका थिए । प्रहीका अनुसार रामबाबु डेरामा पुगेपछि आशालाई मारपिट गर्न सुरु गरे । त्यसपछि अञ्जलीसहित दुवै बहिनीले आमालाई बचाइरहेका थिए ।

त्यसपछि रामबाबुले हातमा लिएको कुखुरी आशामाथि प्रहार गर्न खोज्दा अञ्जली अगाडि बढेपछि उनलाई नै कुखुरी लागेको थियो । प्रहरी नायब उपरीक्षक सिंहका अनुसार, मातिएका रामबाबुले पछि आशा र भतिजी राधामाथि पनि खुकुरी प्रहार गरेका थिए । घटनामा प्रयोग गरिएको खुकुरी र गाडीसमेत प्रहरीले बरामद गरेको छ ।