बहुविवाहवाला कानुन आउने हल्लापछि मन्त्रालय पुगिन् कार्की
काठमाडौँ – बहुबिवाहलाई वैधानिकता दिने कानुन बन्न लागेको हल्लापछि ललितपुरकी सांसद डा. तोसिमा कार्कीले कानुनमन्त्री अजय चौरसियाको ध्यानाकर्षण गराएकी छन् । सामाजिक सञ्जालमा ‘पुरुषले बहुविवाह गर्न पाउने कानुन बन्दैछ’ भन्ने हल्ला फैलिएपछि र अधिकारकर्मीहरू आन्दोलनमा उत्रिएपछि सांसद कार्कीले कानुनमन्त्रीलाई भेटेरै जवाफ मागेकी छन् ।
मुलुकी अपराध संहिताले बहुविवाहलाई अपराध मानेको अवस्थामा सरकारले अपराधलाई मान्यता दिन नहुने उनको धारणा छ । ललितपुर– ३ की सांसद डा. कार्कीले कानुनमन्त्रीलाई भेटेरै ध्यानाकर्षण पत्र बुझाउँदै यसको सत्याताबारे जवाफ माग गरेकी छन् ।
उनले के साँच्चै बहुविवाहबारे कानुन बनाउन छलफल चलेको हो ?, यो हल्ला सत्य हो वा होइन, सरकारको धारणा के हो ? र हल्ला गलत हो भने खण्डन गर्न र जनतालाई सुसूचित गर्न के योजना छ ? भन्दै जवाफ माग गरेकी हुन् ।
मुलुकी अपराध संहिताले बहुविवाहलाई अपराध मानेको अवस्थामा यस्तो गम्भीर विषयमा फैलिएको भ्रमबारे सरकार तुरुन्त बोल्नुपर्ने उहाँको माग छ।