प्रहरी प्रमुख आइजिपी दीपक थापा बालेनलाई भेट्न पुगे महानगरपालिका
काठमाडौं—प्रहरी प्रमुख आइजिपी दीपक थापा बालेन शाहलाई भेट्न महानगरपालिकामा पुगेका छन् । ऐतिहासिक हनुमानढोका दरबार परिसरमा रहेको नेपाल प्रहरीको भवन भत्काइने सम्बन्धमा छलफल गर्न थापा महानगरपालिकाको कार्यालय पुगेका हुन् । कालभैरवको मूर्तिसँगै रहेको उक्त जीर्ण भवन भत्काउन प्रहरीले आनाकानी गर्दै आएको थियो । करिब तीन रोपनी क्षेत्रफलमा फैलिएको भवनमा साना–ठूला गरी पाँच वटा संरचना छन् । भेटपछि आईजिपी थापा र मेयर बालेन भवन भत्काउन सहमत भएका छन् ।
पुरातत्व विभागले समेत आसपासमा रहेका मन्दिर तथा मूर्ति र स्थानीय नागरिकको जीवन धरापमा पारेको भन्दै भवन भत्काउन प्रहरीलाई पत्राचार गरेको थियो । करिब तीन रोपनी क्षेत्रफलमा फैलिएको भवनमा साना–ठूला गरी पाँच वटा संरचना छन् ।
०१२ सालदेखि हनुमानढोकामा बसेको प्रहरी ०७२ सालको भूकम्पपछि सरेको हो । भूकम्पका कारण चिराचिरा परेको र जुनसुकै समयमा ढल्नसक्ने उक्त संरचना हटाउन स्थानीयले बारम्बार सरोकारवालको ध्यानाकर्षण गराउँदै आएका थिए ।