१ लाख २३ हजार विद्यार्थीले लिए एनओसी, बेलायत जानेहरु बढे
काठमाडौँ – गत आर्थिक वर्ष २०८१/०८२ मा १ लाख २३ हजार भन्दा बढी विद्यार्थीले एनओसी लिएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) शाखाको तथ्याङ्क अनुसार एक वर्षमा एक लाख २३ हजार ५८९ जनाले एनओसी लिएका हुन् ।
२०८१ साउन १ गतेदेखि २०८२ असार ३२ गतेसम्म उक्त सङ्ख्यामा एनओसी जारी भएको हो । नेपालीहरू विद्यार्थीले विभिन्न ७० बढी देशमा अध्ययन गर्न एनओसी लिएका छन् । अध्ययनका लागि सबैभन्दा बढी जापानका लागि एनओसी लिएको शाखाले जनाएको छ । शाखा प्रमुख (उपसचिव) विरेन्द्र थापाका अनुसार जापानका लागि ३९ हजार ८४७ विद्यार्थीले एनओसी लिएका छन् ।
त्यस्तै दोस्रो स्थानमा बेलायत अध्ययनका लागि एनओसी लिने विद्यार्थी धेरै छन् । बेलायत लागि २७ हजार ४ सय ७५ जनाले एनओसी लिएका छन् । अस्ट्रेलियाका लागि १६ हजार २ सय ७९, कोरिया ९ हजार ७ सय ५७ र अमेरिका ८ हजार ८ सय ७० जनाले एनओसी लिएका छन् । यसमध्ये सबैभन्दा बढी जापानिज भाषा पढ्नका लागि नेपाली विद्यार्थीले एनओसी लिएका छन् ।
एनओसी लिएका मध्ये ७५ देखि ९० प्रतिशत विद्यार्थी भिसा लागेर विदेश जाने गरेका छन् ।
अघिल्लो आर्थिक बर्षको सोही अवधिमा एक लाख १२ हजार ५९३ जनाले एनओसी लिएका थिए । अघिल्लो बर्षभन्दा गत बर्ष अमेरिका लागि एनओसी लिने विद्यार्थीको संख्या घटेको छ भने बेलायतका लागि एनओसी लिने विद्यार्थीको संख्या दोब्बरले बढेको छ । आर्थिक बर्ष २०८०/०८१ मा अमेरिकाका लागि ११ हजार २६१ जनाले एनओसी लिएका थिए भने बेलायतका लागि १३ हजार ३३९ जना विद्यार्थीले एनओसी लिएका थिए ।