ढोकामा ग्यास सिलिन्डर राखेर कैदीबन्दीहरुले गरे कारागार कब्जा

शनिबार, २४ साउन २०८२

ढोकामा ग्यास सिलिन्डर राखेर कैदीबन्दीहरुले कारागार कब्जा गरेका छन् । कैलाली कारागारका कैदीबन्दीहरुले भित्रबाट ताला लगाएर थुनुवा कक्षको मूल गेटमा ग्याँस सिलिन्डर राखेर कोही भित्र प्रवेश गरे पड्काएर आगो लगाइदिने चेतावनी दिएका छन् । कारागारमा शुक्रबार राती दुई पक्षबीच झडप हुँदा १ जनाको मृत्यु भएको छ भने ४७ जना घाइते भएका थिए ।

कैलाली कारागारमा बिहान प्रमुख जिल्ला अधिकारी गोगन हमालसहितको टोली पुगेको थियो । कारागार प्रशासनसम्म पुगेको जिल्ला सुरक्षा समितिको टोली कैदी बन्दीले घटनास्थलसम्म जान नदिएपछि फर्किएको थियो ।

चारैबाट सुरक्षा निकायका प्रमुखहरूसहित गएको टोली घटनास्थलमा जान नसकेपछि जिल्ला प्रशासन कार्यालयमा आएर सुरक्षा समितिको बैठकले छानबिन समिति बनाउने निर्णय गरेको थियो ।कैदीबन्दीहरुले भित्रबाट ताला लगाएर थुनुवा कक्षको मूल गेटमा ग्याँस सिलिन्डर राखेका छन् । कोही भित्र प्रवेश गरे सिलिन्डर पड्काएर आगो लगाइदिने चेतावनी दिएका छन् ।

राष्ट्रिय मानवअधिकार आयोगको टोली पनि त्यहाँ पुगेको छ । तर, घटनास्थल सम्म पुग्ने अवस्था देखिएको छैन । ‘हामी अहिले घाइतेहरूको उपचारमा लागिरहेका छौँ घटनास्थलमा जान सकिएको छैन’ जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले भने ।

हिजो राति भएको झडपमा १ जनाको मृत्यु हुनुका साथै ४७ जना घाइते भएका छन् । घटनास्थलमा प्रहरी र मानवअधिकारको टोलीसमेत पुग्न नसक्दा त्यहाँको वास्तविक अवस्था अझै सार्वजनिक हुन सकेको छैन ।अहिलेसम्म पनि घाइतेका आफन्तहरूले घाइतेलाई भेट्न नदिएको भन्दै आक्रोश व्यक्त गरेका छन् ।