स्थानीय निर्वाचन : कालिकोटको रास्कोटमा झडप, तीन जना घाइते

शुक्रबार, २ बैशाख २०७९

काठमाडौँ – चुनाव प्रचारको क्रममा कालिकोटको रास्कोट नगरपालिकामा झडप भएको छ । नगरपालिकाको वडा नम्बर ६ स्थित बेल्केढुङ्गोमा रहेको शहिद पार्कमा झडप हुँदा नेपाली कांग्रेसका क्रियाशील सदस्य रमेश न्यौपाने गम्भीर घाइते भएका छन् ।

भर्खरै निर्माण भएको शहिद पार्कमा नेपाली कांग्रेसको झण्डासहित न्यौपाले प्रवेश गरेपछि माओवादी केन्द्र निकट वाइसियलका कार्यकर्ताले कुटपिट गरेका हुन् । झडपमा नेपाली कांग्रेसकै चन्दन शाही र माओवादीका संकर संज्याल समान्य घाइते भएका छन् । जनयुद्धको क्रममा रास्कोटबाट ज्यान गुमाउनेको सम्झनामा स्थानीय सरकारले पार्क निर्माण गरेको थियो । पार्क निर्माणमा कांग्रेस र एमालेले विरोध गर्दै आएका छन् । सोही क्रममा विवाद हुँदा माओवादीले न्यौपानेलाई निशाना बनाएको नेपाली कांग्रेस वडा नम्बर ८ का वडा सभापति गंगाराम बरालले बताएका छन् ।

कांग्रेसका क्रियाशील सदस्य न्यौपाने रास्कोट नगरपालिका वडा नम्बर ४ र ५ मा घरदैलो गरी आफ्नो घर फर्किदै गर्दा वाइसियलको निशानामा परेका हुन् । यसअघि पनि उनको घरमै आएर माओवादी कार्यकर्ताले कुटपिट गर्दै कांग्रेस छोड्न धम्की दिएका थिए । उनको स्थानीय रास्कोट अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय रास्कोटले जनाएको छ । प्रहरीका अनुसार रास्कोटमा उनको उपचार सम्भव नभएपछि रिफर गर्ने तयारी गरिएको छ । उनको टाउँको, हात र खुट्टामा गम्भीर चोट लागेकाले उपचार सम्भव नभएको रास्कोट अस्पतालले जनाएको छ ।