ऋण तिर्न घर बेच्दै प्रकाश सपुत्

बुधबार, २८ साउन २०८२

काठमाडौँ – गायक प्रकाश सपुतले घर बेचेर बसन्त चलचित्र बनाउँदा लागेको ऋण चुक्ता गर्ने भएका छन् । प्रधानमन्त्री केपि शर्मा ओलीको प्रसंसा गरेदेखि दशा लागेका प्रकाशले चलचित्र नचलेपछि घर नै बेचेरै निर्माता मोहन बिश्वकर्मालाई पूर्वसहमति अनुसार पैसा तिर्न लागेका हुन् ।

प्रधानमन्त्री पत्नी राधिका शाक्यको पुस्तक करुणाको विमोचनमा प्रकाशले ओलीको खुलेर प्रसंसा गरेका थिए । त्यही दिनदेखि प्रकाशका सृजनालाई दर्शकले बहिस्कार गर्दै आएका छन् । करोडौँले हेर्ने अपेक्षा गरिएको उनको नयाँ गीत (नाईँ भनेसी नाईँ) पनि नचलेपछि प्रकाश घर बेच्ने निर्णयमा पुगेको श्रोतले जनाएको छ ।

तर प्रकाश निकट श्रोतले भने घर बेचेर ऋण तिर्ने कुरा झुटा भएको जनाएको छ । ‘घर बेच्ने कुरा पुरानो हो । नयाँ चलचित्रका आवश्यक पर्यो भने घर बेच्ने कुरा भएको हो ।’ प्रकाश निकट श्रोतले भन्यो । चलचित्र निर्माणअघि सपुतले निर्मातासँग भनेका थिए, ‘पैसा डुबे पनि घर बेचेर भए पनि फिर्ता दिनेछु ।’ तर हाल निर्माताले पैसा मागेका छैनन् ।

‘निर्माताले पनि पैसा मागेका त छैनन्, उनी सपुतसँग अर्को चलचित्र निर्माण गर्ने तयारीमा छन् । ‘वसन्त’ बाट आएको आम्दानी अर्को चलचित्रमा लगानी गर्ने कुरा मात्रै हो ।’ श्रोतले भन्यो । दलित समुदायको कथा समेटिएको उक्त चलचित्रमा प्रकाश सपुतसहित स्वस्तीमा खड्का, अनुप बराल, कमलमणि नेपाल, प्रकाश घिमिरेलगायतको अभिनय छ ।