दुर्गा प्रसाईँले अन्तत: पूर्वराजा ज्ञानेन्द्र शाहलाई हाने लात

सोमबार, २ भाद्र २०८२

काठमाडौं—दुर्गा प्रसाईँले अन्तत पूर्वराजा ज्ञानेन्द्र शाहलाई लात हानेका छन् । राजसंस्था पुनःस्थापनाका लागि भएको आन्दोलनका ‘जनकमान्डर’ प्रसाईंले पूर्वराजा र राप्रपाले आफूमाथि छुरा प्रहार गरेको भन्दै राजावादी आन्दोलन परित्याग गरेका हुन् ।

प्रसाईँले आफू पुग्नुभन्दा अगाबै तीनकुनेको आन्दोलनमा धवल शमशेर र रवीन्द्र मिश्र पुगेको खुलासा गर्दै उनीहरुले नै आन्दोलन भड्काएको आरोप लगाएका छन् । नयाँ दल खोल्ने घोषणा समेत गरेका प्रसाईंले वैदिक सनातन हिन्दू राष्ट्र, प्रदेश खारेजी, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको एजेण्डा अगाडि सारेका छन् ।

सोमबार आफ्नै निवासमा पत्रकार सम्मेलन गरेर प्रसाईंले आफू राजावादी नरहेको बताएका हुन् । म राजसंस्था फाल्नका लागि सैनिक हिरासतमा बसेको मान्छे हुँ । म राष्ट्रवादी थिए । राजालाई भेट्दा पनि भनेको थिएँ, म राष्ट्रवादी हुँ,’ प्रसाईंले भने ।

राजसंस्थाबारे सोधिएको प्रश्नमा प्रसाईंले भने– ‘हाम्रो एजेन्डा वैदिक सनातन हिन्दू राष्ट्र नेपाल भनेपछि बुझ्नुस् न ।’ नयाँ दल खोल्ने घोषणा समेत गरेका प्रसाईंले व्यवस्थाभित्रै रहेर व्यवस्थाविरोधी आन्दोलन गर्ने बताए ।