नेपाल छिरे साधुको रुपमा बच्चा चोर्ने चोर
जितपुर – साधुको भेसमा बच्चा चोरहरु नेपाल छिरेका छन् । कपिलवस्तुको वाणगंगा नगरपालिका–९ पडरिया टोलबाट बद्री ठाकुर नामका साधुले १३ वर्षीय बालर्क सुमन सुनारलाई फकाएर लैजाँदै गर्दा स्थानीय आमासमूहले उद्धार गरेपछि यस्तो खुलेको छ ।
साधुले आफ्नो छोरा भन्दै अर्घाखाँचीको सुपा देउराली जानेक्रममा जनचेतना आमा समूह (ख) पडरियाका महिलाले सोधपुछ गरेका थिए । सोधपुछका क्रममा साधुले बालकलाई आफ्नो छोरा भएको दाबी गरे पनि प्रमाणित नभएपछि इलाका प्रहरी कार्यालय पिपरा बुझाएका छन् ।
शुक्रबार दिउँसो करिब १२ बजेतिर शिवराज नगरपालिका बसोबासी भएको बताउने ३० वर्षीय साधुले १३ वर्षीय बालक सुमनलाई आफ्नो छोरा भन्दै अर्घाखाँचीको सुपा देउराली जाने भन्दै बाटो लागेका थिए । तर बाटैमा जनचेतना आमा समूह ९ख० पडरियाका महिलाले शङ्का गरी साधु र बालकलाई सोधपुछ गरेका थिए ।
सोधपुछका क्रममा साधुले बालकलाई आफ्नो छोरा भएको दाबी गरे पनि कुरो मिलेन। उनी छिनछिनमा कुरा फेरिरहेका कारण स्थानीयलाई शङ्का झनै बढेको थियो । पछि सत्य तथ्य नखुलेपछि जनचेतना आमा समूहले वडा कार्यालय–९ मा बुझाए । वडा कार्यालयले तत्कालै दुवैलाई इलाका प्रहरी कार्यालय पिपरामा जिम्मा लगाएको छ ।
घटनाबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ । बालक वास्तविक रूपमा सुमन सुनार नै भएको तर साधु बद्री ठाकुरसँग कुनै नाता नभएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी स्रोतले जनाएको छ । सोधपुछका क्रममा साधुले किन बालकलाई छोरा बनाएर लैजान खोजेका हुन् भन्नेबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।