संसद भवनभित्रै मृत भेटिए एक सांसद

बुधबार, ४ भाद्र २०८२

काठमाडौँ – फिनल्याण्डमा संसद भवन भित्रै एक जना सांसद मृत भेटिएका छन्। सोसल डेमोक्र्याटिक पार्टीका ३० वर्षीय सांसद इमेली पेल्टोनेन राजधानी हेलसिन्कीस्थित मुख्य संसद भवनभित्रै मृत भेटिएका हुन्।

घटना मंगलबार बिहानको हो। बिबिसीका अनुसार पेल्टोनेनले आत्महत्या गरिएको अनुमान छ। घटनास्थल र उनको शव हेर्दा घटना शंकास्पद नभएकाले पेल्टोनेनले आत्महत्या गरेको हुनसक्ने अनुमान छ।

बिहान ११:०६ बजे प्रहरी घटनास्थल पुगेको थियो। संसदमा ग्रीष्मकालीन बिदा चलिरहेको थियो। घटनापछि फिनल्यान्डको सबै दलका राजनीतिज्ञहरूले दुःख व्यक्त गरेका छन्।सोसल डेमोक्रेटिक संसदीय दल नेता टिट्टी टुप्पुरेनेनले विज्ञप्ती जारी गरेर घटनाप्रति दुःख व्यक्त गरिन्।

‘उनी एक प्रिय सदस्य थिए र हामी उनलाई धेरै सम्झनेछौं। एउटा युवा जीवन धेरै चाँडै समाप्त भयो, ‘टुप्पुरेनेनले जारी गरेको विज्ञप्तीमा भनिएको छ ।’ प्रधानमन्त्री पेटेरी ओर्पोले दिनभरका लागि सबै आधिकारिक राजनीतिक कामहरू स्थगित गरेका छन्। उनले पेल्टोनेनको सम्मानमा एक मिनेटको मौन धारणसमेत गरेका थिए। सभामुख जुसी हल्ला(अहोले पनि पेल्टोनेनलाई सबै दलमा सम्मान गरिने एक मन पराइएका सहकर्मी भन्दै सम्झिएका छन्।

पेल्टोनेन सन् २०२३ मा पहिलो पटक दक्षिणी उसिमान क्षेत्रबाट सांसदमा निर्वाचित भएका थिए।