माता सीताको जन्म बिहारमा भएको भारतको दाबी
काठमाडौं—गौतम बुद्धपछि भारतले नेपालकी राष्ट्रिय विभूति सीतालाई आफ्नो देशमा जन्मिएको दावि गरेको छ । जनकपुरधाममा जन्मिएकी सीतालाई धार्मिक विश्वास तथा पौराणिक तथ्यलाई ओझेलमा पार्दै भारतले बिहारमा सीताको मन्दिर बनाउँदै छ । भारतले कपिलवस्तुको सिमानास्थित बिहारमा लुम्बिनीकै जस्तो मन्दिर र विहार बनाएर बुद्धको जन्मभूमि भारतमा भएको दाबी गर्दै आएको छ । बुद्ध जस्तै भारतका केन्द्रीय गृहमन्त्री अमित शाहले माता सीताको जन्म बिहारमा भएको दाबी गर्दै मन्दिर निर्माणको शिलान्यास समेत गरेपछि यो विषय सार्वजनिक भएको हो ।
धार्मिक तथा पौराणिक मान्यताअनुसार माता सीताको जन्म हाल नेपालको मधेश प्रदेशको राजधानी जनकपुरधाममा भएको हो । यही मान्यताअनुुसार विवाह पञ्चमीका दिन भारतको अयोध्यबाट जनकपुरमा जन्ती आउने परम्परा छ । अयोध्यबाट रामलाई बेहुला बनाएर ल्याउने र जनकपुरबाट सीतालाई अन्माउने परम्परा छ । जनकपुरधाम सीताको जन्मभूमि रहेको नेपाल र भारतसहित विश्वको हिन्दुधर्मावलम्बी विश्वास गर्छन् ।
तर, यो विश्वास र धार्मिक तथा पौराणिक तथ्यलाई ओझेलमा पार्दै भारतले बिहारमा सीताको मन्दिर बनाउँदै छ । मन्दिर बनाउनु नौलो विषय होइन, नियत र उद्देश्य भने प्रमाणिक धार्मिक र पौराणिक मान्यताविपरीत छ ।
कपिलवस्तुको सिमानास्थित बिहारमा लुम्बिनीकै जस्तो मन्दिर र विहार बनाएर भारतले बुद्धको जन्मभूमि भारतमा भएको दाबी गर्दै आएको छ । उसले सार्वजनिक मञ्चमा बुद्ध भारतमा जन्मिएको बताउने गरेको छ ।
यस्तै, अब सीता पनि भारतमा जन्मिएको दाबी गरिन थालिएको छ ।
सीताको जन्म बिहारमा भएको दाबी
जानकी मन्दिर निर्माणका लागि गरिएको भूमिपूजन र शिलान्यासपछि सम्बोधन गर्दै भारतीय जनता पार्टीका नेतासमेत रहेका गृहमन्त्री अमित शाहले माता सीताको जन्मभूमि पुनौराधाममा मन्दिर निर्माण गर्न पाउँदा खुसी लागेको बताए ।
माता सीताको प्रकट बिहारमा भएको दाबी गर्दै गृहमन्त्री शाहले भने, ‘हाम्रो मिथिलाञ्चलको संस्कृति केवल यहीँको मात्र नभई पुरै भारतको गहना हो । आजको दिन एक किसिमले अति शुभ दिन हो । यहाँ सयौं वर्षअघि रामायण कालमा राजा जनकले जमिनमा सुनको हलो चलाए, त्यहीँबाट माता जानकी प्रकट हुनुभएको थियो ।’
उनले श्रीराम र सीतासँग सम्बन्धित स्थलहरूलाई पुनर्जीवित गरिने उद्घोष गर्दै भने, ‘श्रीराम र माता सीताको पहिलो भेट भएको स्थानदेखि लिएर लव–कुशको जन्मस्थल र माता सीताको अन्तिम वासस्थानसम्मका सबै स्थलहरूलाई पुनर्जीवित गरिनेछ र ती सबै हाम्रो देशको मातृशक्तिलाई समर्पित गरिनेछ ।’
माता सीताको जन्मभूमिमा ठूला महिमा फैलिन गइरहेको भन्दै गृहमन्त्री शाहले भने, ‘भारतको संस्कृतिमा माता सीताको स्थान अद्वितीय छ । एउटै जीवनमा आदर्श पत्नी, छोरी, आमा र राजमाताको सबै भूमिका उहाँले सफलतापूर्वक निभाउनुभयो । माता सीताको जन्मभूमिमा ठूलो महिमा फैलन गइरहेको छ । यो बिहारको भाग्योदयको सुरुआत हो, माता सीताको मन्दिर मातृशक्तिलाई समर्पित हुनेछ ।’
१४ अर्ब २४ करोड लागतमा मन्दिर निर्माण गरिँदै
१४ अर्ब २४ करोड नेपाली रुपैयाँ बिहारको पुनौराधाममा माता सीताको मन्दिर निर्माण गरिँदै छ । गत साउन २३ गते पुनौराधाममा माता सीताको मन्दिर निर्माणका लागि भूमिपूजन र शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री शाहले माता सीताको मन्दिर निर्माणका लागि ८ अर्ब ९० करोड भारतीय रुपैयाँ (१४ अर्ब २४ करोड नेपाली रुपैयाँ) खर्च हुने जानकारी दिए ।
‘८९० करोड भारतीय रुपैयाँको लागतमा माता जानकीको भव्य स्मारक र मन्दिर निर्माण गरिनेछ । त्यहाँ परिक्रमा क्षेत्र, धार्मिक जलस्रोत, चिकित्सा सुविधा र रामायण कथाको थ्रीडी अनुभवसहित युवाहरूलाई श्रीराम र माता जानकीको सम्पूर्ण जीवन देखाउन सकिने व्यवस्था गरिनेछ,’ उनले भने ।
भारतले नेपाली भूमिमाथिको अतिक्रम मात्र होइन सांस्कृति र धार्मिक अतिक्रमन गर्न थालेको छ । तर, नेपालले भारतको अफवाहलाई रोक्न राजनीतिक तथा कूटनीतिक पहल गरेको देखिँदैन । भारतमा ११ वर्षदेखि सत्ताको बागडोर सम्हालिरहेको भाजपाका जिम्मेवार नेता तथा केन्द्रीय गृहमन्त्री अमित शाहको ‘माता सीताको जन्म पुनौराधाममा भएको’ दाबीका विषयमा हालसम्म नेपाल सरकारको धारणा सार्वजनिक भएको छैन । शाहको अभिव्यक्ति आएको दुई साता पुग्न लाग्दासमेत नेपाल सरकार मौन छ ।
माता सीताको मन्दिर निर्माणका लागि गरिएको भूमिपूजन र शिलान्यास कार्यक्रमलाई गृहमन्त्री शाहले सम्बोधन गर्दै माता सीताको जन्म पुनौराधाममा भएको दाबी गरिएको भिडिओ भाजपाको फेसबुक पेजमा समेत हालिएको छ ।