एक साताभित्र युक्रेनसँग सहमति नगरे रुसविरुद्ध कडा प्रतिबन्ध लगाउने ट्रम्पको चेतावनी

शनिबार, ७ भाद्र २०८२

काठमाडौँ – अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेन युद्ध अन्त्यका लागि रुसलाई २ साताको समयसीमा (अल्टिमेटम) दिएका छन्।

ट्रम्पले आगामी दुई हप्तामा युक्रेन युद्धको शान्तिपूर्ण समाधानतर्फ कुनै ठोस प्रगति भएन भने रुसविरुद्ध कडा प्रतिबन्ध वा कर लगाउने चेतावनी दिएका हुन्। यही अगस्ट १५ मा अलास्कामा रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता गरेको एक हप्तापछि ट्रम्पले उक्त अभिव्यक्ति दिएका हुन्।

शुक्रबार ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले भने, ‘म चाँडै निर्णय गर्नेछु। यो धेरै महत्त्वपूर्ण निर्णय हुनेछ, चाहे त्यो ठूलो मात्रामा प्रतिबन्ध होस्, कर होस् वा दुवै। अथवा हामी यो पनि भन्न सक्छौँ ‘यो अमेरिकाको लडाइँ होइन, यो तपाईंको लडाइँ हो।’

उनले युक्रेनस्थित अमेरिकी कारखानामा रुसले हालै गरेको आक्रमणप्रति आक्रोश पनि व्यक्त गरे। आक्रमणबाट कारखानामा आगलागी भएको थियो र धेरै कर्मचारी घाइते भएका थिए।

ट्रम्पले भने, ‘म यसबाट खुसी छैन, युद्धसँग सम्बन्धित कुनै पनि कुराबाट।’ओभल अफिसमा पत्रकारहरूसँग कुरा गर्दै उनले थपे, ‘रुस(युक्रेन युद्धमा जे भइरहेको छ त्यसबाट म खुसी छैन। यो कुन दिशामा जान्छ भन्ने कुरा अर्को दुई हप्तामा स्पष्ट हुनेछ।’ ट्रम्पले रुसका राष्ट्रपति पुटिन र युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच प्रत्यक्ष भेटघाटका विषयमा पनि बताए।