रविलाई छुटाउन उच्च अदालत पुगिन् निकिता

सोमबार, ९ भाद्र २०८२

काठमाडौँ – रवि लामिछानेलाई छुटाउन पत्नि निकिता पौडेल उच्च अदालत पुगेकी छन्। जिल्ला अदालत रुपन्देहीले अभियोग अनुसारको धरौटीमा रिहा गर्न नमानेपछि पौडेल मुद्दाको पुनरावेदनका लागि उच्च अदालत तुलसीपुरको बुटवल इजलास गएकी हुन् ।

श्रीमानको न्यायाका लागि विश्वको जुनसुकै अदालतको ढोका ढकढक्याउन तयार रहेको बताउने पौडेलले जेलमा आफ्नो श्रीमान सुरक्षित नरहेको उल्लेख गरेकी छन् । बुटवलको सुप्रिम सहकारी ठगी आरोपमा गत चैत २२ गते सोही अदालतले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो।

यसअघि जिल्ला अदालत रुपन्देहीमा दिएको निवेदनमा मागबमोजिम आदेश नआएपछि निकिताले उच्च अदालतमा समेत निवेदन दिएकी हुन् । निवेदन दिएपछि सोमबार निकिताले सामाजिक सञ्जाल फेसबूकमा लेखेकी छन्, ‘न्याय पाइयोस् कि नपाइयोस्, संविधान र कानूनले अनुमति दिएका देशभित्र र बाहिरका हरेक ढोका ढक्ढक्याउने छु ।’

उनले कारागारमा आफ्ना पतिको जीवन सुरक्षित नरहेको जिकिर समेत फेसबूकमा गरेकी छन् । ‘मैले हिजो पनि भनेकी हुँ र आज पनि भन्छु, मेरो श्रीमानको जीवन सुरक्षित छैन । भैरहवा कारागारमा उहाँलाई कसरी राखिएको थियो, अब मैले केही भनिरहन पर्दैन । यिनिहरूले किन जेल सार्न मानिरहेका थिएनन्, यिनिहरूको नियत के थियो, त्यो पनि बताइरहन पर्दैन’, फेसबूक स्टाटसमा अगाडि लेखिएको छ ।

सरकारले झुटा मुद्दा लगाएर फसाएको आरोप समेत उनले लगाएकी छन् । ‘आफैंले झुटा मुद्दा लगाएर, सत्ता र शक्तिको चरम दुरुपयोग गरेर जेलमा थुनेको एउटा बन्दीलाई प्रधानमन्त्रीदेखि महामन्त्री (कांग्रेस) सम्मले संसद्को रोस्ट्रमबाट किन धम्क्याइरहेका होलान्, त्यो पनि मैले भनिरहन पर्दैन’, निकिताले लेखेकी छन् ।

बिगो तोकेर त्यस बराबरको बैंक जमानत लिई रिहा गरिदिन उनको माग छ । ‘बिगो तोकिदेऊ र त्यो बराबरको बैंक जमानत लिएर जेलबाहिरबाट मुद्दा लड्न देऊ, मेरो आग्रह यत्ति हो’, निकिताले लेखेकी छन् ।