चर्चित नेपाली फुटबलरले गरे फुटबलबाट संन्यास घोषणा

शनिबार, २१ भाद्र २०८२

काठमाडौँ – चर्चित फुटबलर भरत खवासले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा गरेका छन्। १७ वर्षसम्म नेपाली फुटबलमा योगदान दिएका खवासले घरेलु मैदानमा बंगलादेशविरुद्ध हुने दुई मैत्रीपूर्ण खेलपछि फुटबलबाट संन्यास लिने घोषणा गरेका  हुन्।

मोरङको सुन्दरहरैँचा नगरपालिकाका भरत सन् २००८ मार्च २५ मा पोखरा रंगशालामा पाकिस्तानविरुद्धको मैत्रीपूर्ण खेलबाट अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गरेका थिए । उनी एन्फा एकेडेमीको दोस्रो ब्याचका खेलाडी हुन् । उनले नेपालका लागि १७ वर्षको अवधिमा ६६ अन्तर्राष्ट्रिय खेल खेलेका छन् र १० गोल गरेका छन्। उनले ७ खेलमा कप्तानको आर्मब्यान्ड पनि लगाएका छन्।

उनको अन्तर्राष्ट्रिय करियरमा सन् २०१३ मा काठमाडौँमा भएको साफ च्याम्पियनसिपमा बंगलादेशविरुद्ध गरेको गोल निकै चर्चित छ।

भरतले घरेलु फुटबलको यात्रा सङ्कटा क्लबबाट सुरु गरेका थिए। त्यसपछि एक वर्ष फ्रेन्ड्स क्लबमा बिताए। २०६६ र ०६८ सालको लिगमा पुलिस क्लबबाट खेलेर लिग च्याम्पियन बने। पछि उनी त्रिभुवन आर्मी क्लबमा जोडिए। उनले आर्मीलाई भने लिग उपाधि दिलाउन सकेनन्।