पश्चिमसम्मै पुग्यो मनसुन, यस्तो छ आज दिनभरको मौसम ?

सोमबार, ९ असार २०७६

काठमाडौँ – पूर्वबाट चार दिनअघि नेपाल प्रवेश गरेको मनसुन पश्चिम क्षेत्रसम्म फैलिएको छ । देशका पश्चिम क्षेत्रमा आइतबार बेलुका तिरै मनसुन पुगेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अब बिस्तारै मनसुनी गतिविधि बढ्दै जाने जनाइएको छ ।

मौसमविदका अनुसार सोमबार देशभरकै मौसम आंशिकदेखि समान्यत बदली हुनेछ । आइतबारको तुलनामा केही कम रहे पनि देशभरको मौसम बदली हुने देखिएको मौसमविद मीनकुमार अर्यालले बताएका छन् ।

पूर्व र पश्चिमका केही स्थानमा वर्षाको सम्भावना रहेको छ । यस्तै काठमाडौँ उपत्यकासहित मध्य क्षेत्रका थोरै स्थानमा वर्षाको सम्भावना रहेको मौसमविद अर्यालले बताए । बिहान खुलेको जस्तो देखिए पनि मौसम बदली हुनेछ ।