आज दिउँसो पानी पर्ने, यस्तो छ आजदेखि ३ दिनसम्मको मौसम

सोमबार, १६ असार २०७६

काठमाडौं – आज दिउँसो सामान्य बदली भई धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षको सम्भावना रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज राति पनि देशभर सामान्य बदली हुनेछ भने पूर्व, मध्य र पश्चिमका केही स्थानहरुमा वर्षाको सम्भावना छ । मध्य र पूर्वका विशेषतः तराई भू–भागका एक दुइ स्थानमा र पश्चिमी पहाडी क्षेत्रमा भारी बर्षाको सम्भावना छ ।

मंगलबार दिउँसो देशभर सामान्य बदली भई पश्चिमी क्षेत्रका धेरै स्थानमा वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । त्यस्तै पूर्व र मध्यका केही स्थानमा समेत मंगलबार दिउँसो मेघगर्जनसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार मंगलबार राति भने देशभर सामान्य बदली भई पूर्व र मध्यका केही स्थान र पश्चिमका थोरै स्थानहरूमा मेघगर्जनसहित वर्षाको सम्भावना छ ।

त्यस्तै बुधबार दिउँसो देशभर सामान्य बदली हुनेछ भने मध्य, र पश्चिमी भागमा मेघ गर्जन तथा पूर्वी भागमा हल्का वर्षाको सम्भावना छ ।

बुधबार राति भने देशभर सामान्य बदली भई पूर्व र मध्यका केही स्थानहरुमा मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । त्यस्तै बुधबार राति नै पश्चिमी क्षेत्रमा मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको छ भने पश्चिम र मध्यका एक दुइ स्थानहरुमा भारी बर्षाको सम्भावना छ ।