माआवादीको कपिराइट गुमाएको प्रचण्ड
काठमाडौँ – समय यति शक्तिशाली हुँदो रहेछ कि मानिसलाई कहाँ पु¥याइदिन्छ पत्तै नहुने रहेछ । अहिले माओवादी र प्रचण्डको सन्दर्भ पनि ठ्याक्कै त्यस्तै भएको छ । प्रचण्डको बाध्यता वा परिस्थितिले सृजना गरेको आवश्यकता जे भनेपनि माओवादी ब्राण्डबाट प्रचण्ड अलग हुन पुगेका छन् ।
उसो त प्रचण्ड आफूलाई गतिशिल राख्न चाहने राजनीतिज्ञ हुन् । र उनी गतिशिलताको नाममा नयाँनयाँ प्रयोग गरिरहने पात्र हुन् । उनी कहिले माओवादलाई मार्गनिर्देशक वैचारिक हतियार मान्छन्, कहिले माओवादकै विकास गरेर प्रचण्डपथ बनाउँछन् । अनि फेरी नारायणकाजीहरुसँग एकता गर्ने भन्दै प्रचण्डपथ छाडिदिन्छन्, अनि कहिले ओलीसँग एकता गर्ने भन्दै माओवाद बुझाउँछन् त कहिले माधव नेपालको मन राख्दिनका लागि माओवादी पार्टी र माओवाद नै भूलिदिन्छन् ।
उहिलेको प्रचण्ड माओवादी जनयुद्धको डिजाइनर र जनमुक्तिसेनाको सर्वाेच्च कमाण्डर थिए । माओवादी पार्टीको अध्यक्ष थिए, उत्पिडित जाति, समुदाय, क्षेत्र, लिङ्गको अधिकारका लागि लड्ने नेतृत्व थिए । शहीद, बेपत्ता परिवारको अशाको दियो र घाइतेहरुको आदर्श थिए ।
तर, अहिलेको प्रचण्ड नेपाली कम्युनिष्ट पार्टीको एकथान संयोजक र पूर्वप्रधानमन्त्री हो । अहिलेका संगतियाहरु बाबुराम, विप्लव र प्रभाकरहरु होइनन् न किरण र बादहलहरु नै हुन् । अहिले प्रचण्डका सारथीहरु माधव, झलनाथहरु हुन् । यहीँ विभिन्न स्थानहरुबाट जमघट भएकाहरुकै नेतृत्व गरेर नै प्रचण्ड उमेरले सत्तरी काटीसक्दा पनि बाँकी राजनीतिक लडाई लड्ने तयारी गर्दै छन् ।
हुन त राजनीतिमा थुप्रै बाध्यताहरु हुन पनि सक्ला । सहकार्य गर्दा गिभ एण्ड टेक हुन पनि सक्छ । तर आफ्नो पहिचान र अस्तित्व मेटाएर कसैले कसैसँग सहकार्य गर्दैनन् । कुनै दुई बस्तुहरु एकअर्कामा बिलय भएपछि कि नवनिर्माण हुनुपर्दछ कि वीनवीनको अवस्था हुनुपर्दछ ।
भर्खरै मात्र प्रचण्डको नेतृत्व रहने गरी निर्वान आयोगमा तारा चुनाव चिन्हसहित नेपाली कम्युनिष्ट पार्टी दर्ता भएको छ । अब यही पार्टी र चुनाव चिन्हबाट पूर्व माओवादी सुप्रिमो चुनाव लड्ने निश्चितप्राय छ ।
कुनै समय प्रचण्ड र माओवादी एकअर्काका पर्यायबाची शब्द जस्तै थियो । माओवादी भनेकै प्रचण्ड र प्रचण्ड भनेकै माओवादी जस्तो आम बुझाई बनेको थियो । पटकपटकको विभाजनको मार खेपेको माओवादी पार्टीको कपिराइट प्रचण्डसँग नै थियो । तर अब माओवादी पहिचान प्रचण्डबाट खोसिएको छ ।
यो मामिलामा प्रचण्डले जोखिम मोलेकै मान्नुर्छ । अब माओावदीका समर्थकहरुले, माओवादी जनयुद्धमा त्याग, बलिदान गर्नेहरुले, गुमाएका या पाएकाहरु कसैले पनि अब प्रचण्डलाई भोट हाल्दा हसियाँ हथौडामा हाल्न पाउने छैन । अरु कुनै चिन्हको लाइनमा नजर लगाउनु पर्नेछ । प्रचण्डलाई जिताउन प¥यो भने माओवादीलाई होईन अरु पार्टी लाई नै भोट हाल्नुपर्नेछ ।
समय फेरिएको हो या प्रचण्ड फेरिएको हो कसैले भेऊ पाएको छैन । सायद त्यो प्रचण्डलाई पनि थाहा छैन । किनकि पहिला पनि माओवादी पार्टी र माओवादसँग प्रचण्डको एकपटक विछोड भइसकेको छ ।
थुप्रै विरोधाभाषका बीचबाट यात्रा गरिरहने प्रचण्डलाई बुझ्ने कसरी हो, त्यसको जिम्मा इतिहासलाई छोड्दा नै उपयुक्त हुन्छ होला । समाजले अस्थिर भनिरहने तर आफूलाई गतिशिल लागिरहने, समाजले अवसरवाद भनिरहने तर आफूलाई ट्याक्टिकल मूभ लागिरहने, समाजले पदलोलुभ भनिरहने तर आफूलाई चार दशकसम्म पार्टी अध्यक्ष भएर देशको सेवा गरियो भन्ने लागिरहने, समाजले त्यत्रो शक्तिशाली आन्दोलनको क्षयीकण देखिरहने अनि आफूलाई चाहीँ साथीभाई र परिस्थितिको कारण हो जस्तो लागिरहने , यी द्वविधाहरुले आजको परिस्थितिको सृजना भएको हुनुपर्छ ।
यति हुँदाहँदै पनि पूर्व माआोवादीहरुको सहकार्य र एकताको प्रयासहरु नभएका भने होइनन् । अभैmपनि माओवादी आन्दोलनको पुर्नगठनको बहस र छलफलहरु जारी छन् । तर विषयहरु नजिकिने भन्दा टाढिने भैरहेको छ । तिता कुराहरुलाई प्रश्रय दिइरहेको देखिन्छ ।
तर सत्य कुरा के हो भने, प्रचण्डले माओवादी छाडेपनि माओवादी मुद्धाले, शहीद, बेपत्ता योद्धाको परिवारका आँशुले, घाइते योद्धाहरुको चिच्याहटले प्रचण्डलाई छाड्नेवाला छैन ।जनताले माओवादी आन्दोलनको तीन घुम्तिलाई नजिकबाट देखेका छन् । पहिले घुम्ती जनयुद्धको, दास्रो संविधानसभाको र तेस्रो वर्तमान अवस्थाको । सबै भन्दा सङ्कटपूर्ण घुम्ती भनेको वर्तमानको तेस्रो बनेको छ ।
२००३ सालतिर जन्मेको काङ्ग्रेसको पहिचान जीवित छ, २०४८ सालमा जन्मेको एमाले जिउदै छ, अनि २०५२ सालमा जन्मेको माओवादीको पहिचान वा अस्तित्वमाथि किन प्रश्न चिन्ह खडा भयो । यो माओवादी समर्थकहरुका लागि धेरै चिन्ताको विषय हो ।
राजनीतिक शक्ति मुद्धाका आधारमा कहिले बलियो हुन्छ, कहिले कमजारे हुन्छ । त्यसलाई स्वभाविकै मान्नुपर्छ तर हरेक पार्टीको उदयको पछाडि केही न केही ऐतिहासिक पृष्ठभूमि हुन्छ । जो उसको पहिचान बन्छ ।
तसर्थ नेपालमा एउटा मात्र कम्युनिष्ट पार्टी बन्ने अवस्थाबाहेक अन्यथा माओवादी पार्टी र माओवाद जनयुद्धका नेतृत्वले त्याग्नु विल्कुलै असान्दर्भिक हो ।त्यसै गरी प्रचण्डकै पूर्व सारथी विप्लवको नेतृत्वमा नेकपा (माओवादी) निर्वाचन आयोगमा दर्ता भएको छ । विप्लव पनि गुलाफको पूmल चुनाव चिन्ह लिएर संसदीय प्रतिस्पर्धामा हेलिदै छ । यसरी हेर्दा इतिहासमा लोप हुनबाट माओवादी पार्टी र माओवाद कानुनी रुपमै जोगिएको छ ।
जुनजुन उद्देश्यले संसदीय प्रतिस्पर्धामा उत्रीए पनि अबको राजनीतिक प्रतिस्पर्धा रोचक नै हुनेवाला देखिन्छ । अहिलेकै अवस्थामा निर्वाचन भए प्रचण्डको प्रतिस्पर्धा माओवादीसँग हुनेछ । जसलाई सुन्दा अनौठो लााग्न सक्छ तर सत्य त्यही हो ।
प्रचण्डले माओवादी आन्दोलन हँदै कम्युनिष्ट आन्दोलनमा ठूलो गुन लगाएको छ अनि नेपाली राजनीतिमा महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । उनीबिना अब नेपालको राजनीतिक इतिहास पनि अपूर्ण हुने भैसकेको छ ।
यसको अलवा पनि जनयुद्धको भावना, विचार, संघर्ष र नेतृत्वको केन्द्रीकृत अभिव्यक्ति माओवाद बिनाको प्रचण्डको पहिलो चुनावी प्रतिस्पर्धालाई धेरैले नजिकबाट नियालेका छन् । शुभचिन्तकहरुले राजनीतिक जीवनको उत्तरार्धमा उनको नमिठो अनुभव नहोस् भनेर शुभेच्छा व्यक्त पनि गरेका छन् ।
वास्तवमा कम्युनिष्ट र गैरकम्युनिष्टबीचमा प्रतिस्पर्धाको वातावरण बन्नुपर्ने हो । त्यो पनि हुननसके पूर्व माओवादीहरुको एकतासहितको प्रतिस्पर्धाको वातावरण निर्माण हुनुपर्ने हो । तर परिस्थिति अर्कै ढङ्गले विकास भैरहेको छ । सगोत्रीहरुबीचको भिडन्तले केही शक्तिशाली भनिएकाहरुको राजनीतिको दुखान्त अन्त्य हुने सम्भावना पनि बलशाली बनेर गएको छ ।जेनजी आन्दोलनपछि चलेको राजनीतिक भागदौडसँगै ध्रुवीकरण र एकताको प्रक्रियाहरु एकातिर चलिरहेको छ भने अर्काेतिर नयाँ राजनीतिक प्रयोगको शृङ्खलाहरु पनि सतहमा देखिदै गईरहेका छन् ।
पहिल्यै असफल भैसकेका केही प्रयोगहरु फेरी नयाँ संस्करणमा हुने तयारीमा देखिएको छ । ओली प्रचण्डको सहकार्य जति सफल हो एकता त्यनि नै असफल हो । त्यस्तै गरेर प्रचण्ड माधवको एकता ओली—प्रचण्ड एकताको नयाँ संस्करण हो ।
आजको आवश्यकता सबै बाम एकै ठाम हुनुपर्ने हो । विभाजन भन्दा एकता हुनु राम्रो हो । तर एकतासँगै विभाजन हुनु राम्रो होइन । नोपाली बाम आन्दोलनमा जे नहुनुपर्ने हो त्यही पटकपटक दोहोरी राखेको छ । कसले कसलाई निल्ने, कसले कस्को बिगार्ने भन्ने मनोदशाले ग्रसित यो आन्दोलन अझै सुध्रने दिशातिर देखिदैन । यो खेलमा जानी नजानी प्रचण्ड पनि सहभागि छन् ।
त्यसैले प्रचण्ड रङ्गी बिरङगी सेना लिएर कम्युनिष्ट र माओवादीसँग प्रतिस्पर्धा गर्न उत्रिएका छन् । यदि यो परिस्थिति सम्हाल्ने अवस्था भएन भने सर्वनाक क्षति हुनबाट कसैले जोगाउन सक्दैन । बरु सकिन्छ बृहत बाम एकता वा सहकार्य गर्ने, सकिदैन भने आफ्नो राम्रोसँग सम्हाल्ने गर्दा नै आन्दोलनलाई तत्कालको दुर्घटनाबाट टार्न सकिन्छ । यसैमा नै सबैको भलो हुनेछ ।
काजी गुरुङ—गोरखा, ९८५६०७१९२१