विदेशमा विचल्ली परेका ४७ जनाको उद्धार
काठमाडौँ – सरकारले विदेशमा विचल्लीमा परेका ४७ जनालाई उद्धार गरेको छ । आकर्षक रोजगारीको प्रलोभनमा पारी म्यानमार पुर्याएर अवैध काममा लगाइएका ४७ जनालाई बैंककस्थित नेपाली दूतावासले उद्धार गरी नेपाल ल्याएको हो ।
उनीहरुलाई दलालहरुले स्क्यामिङ्ग केन्द्रमा अनलाइन डेटिङ्ग, क्यासिनो, गेमिङ, फिसिङ, क्रिप्टो ठगीलगायत काममा लगाइएका थिए । दलालहरुले उनीहरुलाई कामको निश्चित लक्ष्य दिने, लक्ष्य पुरागर्न नसके विभिन्न अपराधको दोष लगाई चरम आर्थिक तथा शारीरिक शोषणसँगै बन्धक बनाई परिवारसँग फिरौती माग्ने, जेल पठाउने, हत्या गर्नेसम्म पाइएको दूतावासले बताएको छ ।
बैंककस्थित नेपाली दूतावासले ४७ जनालाई उद्धार गरेर आज नेपाल एयरलाइन्सको उडान नम्बर आरए ४०२ मार्फत नेपाल फर्काएको हो । जसमा ४५ जना पुरुष र दुई महिला छन् ।
नेपाल फर्काइएकामध्ये सबैभन्दा धेरै झापाका पाँच जना रहेका छन् । त्यसपछि धादिङ, गोरखा, रुपन्देही, सिन्धुपाल्चोक र उदयपुरका तीन–तीन र चितवन, दैलेख, कास्की, काठमाडौं, काभ्रे, पाल्पा, रामेछाप, रौतहट, सल्यान, सर्लाही, सिन्धुली, ताप्लेजुङ र तेह्रथुमका एक–एक जना रहेको दूतावासले जनाएको छ ।
दूतावासका अनुसार उनीहरूलाई म्यानमारमा अवैध रुपमा सञ्चालित अनलाइन स्क्रयामिङ्ग केन्द्रहरूमा अनलाइन डेटिङ्ग, क्यासिनो, गेमिङ, फिसिङ, क्रिप्टो ठगीलगायत काममा लगाइएको थियो । उनीहरू विभिन्न व्यक्ति, साथीभाइ, पवजीलगायत गेम खेल्ने साथी, विदेशमा भएका साथी र सामाजिक सञ्जालमा आउने विज्ञापनको माध्यमबाट त्यहाँ पुगेको खुलेको छ ।
स्क्यामिङ्ग केन्द्रमा पुगेपछि शुरुका केही महिना आरामदायी किसिमले काम लगाउने र केही समय व्यतित भएपछि कामको निश्चित लक्ष्य दिइने र त्यो पूरा गर्न नसके विभिन्न अपराधको दोष लगाई चरम आर्थिक तथा शारीरिक शोषणसँगै बन्धक बनाई परिवारसँग फिरौती माग्ने, जेल पठाउने, हत्या गर्नेसम्म पाइएको दूतावासले बताएको छ ।
‘निजीहरु स्क्यामिङ्ग केन्द्रबाट निस्किन खोजे निजहरुको सट्टामा अर्को व्यक्तिलाई नल्याएसम्म छुटकारासमेत नगराउने देखिएको छ,’ दूतावासद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।