प्रधानमन्त्री कार्कीद्वारा मन्त्रिपरिषद् विस्तार, थपिए चार नयाँ मन्त्री
काठमाडौं– प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारको मन्त्रीपरिषद् शुक्रवार विस्तार भएको छ ।
विस्तार भएको मन्त्रिपरिषदमा थपिएका चार जना नयाँ मन्त्रीहरूले शुक्रवार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन् ।
नयाँ मन्त्रीहरुमा श्रद्धा श्रेष्ठ, माधव चौलागाईँ, राजेन्द्रसिंह भण्डारी तथा कुमार इङ्नाम छन् ।
राष्ट्रपति कार्यालयकाअनुसार नवनियुक्त चार मन्त्रीहरूमध्ये श्रद्धा श्रेष्ठलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, चौलागाईँलाई वन तथा वातावरण मन्त्रालय, भण्डारीलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय तथा इङ्नामलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल लगायतका विशिष्ट व्यक्तिहरुको उपस्थिति थियो ।