जेनजीका माग पुरा गर्न देशभरका प्रहरी कार्यालयलाई सर्कुलर

शुक्रबार, २६ मंसिर २०८२

काठमाडौं—सरकारले जेनजीका माग पुरा गर्न देशभरका प्रहरी कार्यालयलाई सर्कुलर गरेको छ ।

गृहमन्त्री ओमप्रकाश अर्यालको निर्देशन पछि भदौ २४ गते आगजनी गरेको आरोपमा पक्राउ परेका व्यक्तिहरुलाई रिहा गर्न प्रहरी प्रधान कार्यालयले सर्कुलर गरेको हो । सर्कुलर अनुसार पक्राउ परेका सबैलाई ‘हाजिर जमानी’मा रिहा गर्न भनिएको छ ।

८७२ जना पक्राउ परेकामा ३९५ विरुद्ध मुद्दा दर्ता भएको छ । जेनजीको समूहले पक्राउ परेका व्यक्तिलाई विनासर्त रिहा गर्न माग गरेको थियो ।

मङ्सिर २४ मा जेनजी अगुवा र सरकारको बिचमा १० बुँदै सम्झौता भएको थियो ।

सम्झौताको २ नम्बर बुँदामा आन्दोलनमा सहभागी भएकै कारण अनुसन्धान र अभियोजन गरिएका व्यक्तिबारे उजुरी लिएर उच्च स्तरीय जाँचबुझ आयोगले स्क्रिनिङ गर्ने उल्लेख गरिएको थियो ।

स्क्रिनिङ गर्दा कुनै व्यक्ति ज्यान मार्ने कसुर वा संगठित आपराधिक गिरोहमा संलग्न नदेखिएमा जाँचबुझ आयोगको प्रतिवेदनबमोजिम हुने गरी तत्काल थुनामुक्त गर्न र निजविरुद्ध दायर भएका मुद्दा फिर्ता लिन नेपाल सरकारलाई सिफारिस गर्ने सम्झौतामा उल्लेख छ ।

सम्झौताको मस्यौदाकार मध्येका एकजना सरकारी अधिकृतका अनुसार ज्यान मार्ने र संगठित अपराधका घटना बाहेक आन्दोलनमा ढुङ्गा हानेको वा प्रतिरोधको क्रममा भएका घटनामा फौजदारी मुद्दा नचलाउने सहमति भएको थियो । तर, स्क्रिनिङ नगर्दै कसुरदारहरूलाई छाड्न सर्कुलर गरिएपछि दण्डहीनताले प्रश्रय पाउने प्रहरी अधिकृतहरू बताउँछन् ।

यसअघि असोज ९ मा पनि जेनजी प्रदर्शनमा सहभागी भएर उच्छृङ्खल गतिविधिमा संलग्नहरूलाई ‘स्क्रिनिङ’ गरेर रिहा गर्न गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको थियो ।

त्यसपछि प्रहरीले पक्राउ परेकाहरूलाई हाजिर जमानीमा रिहा गरेको थियो । जेनजीसँगको सम्झौतापछि गृह मन्त्रालयले दोस्रो पटक जेनजी प्रदर्शनमा उच्छृङ्खल गतिविधि गर्नेहरूलाई छाड्न आदेश गरेको हो ।