खेलाडी हेर्न नपाएको झोंकमा स्टेडियम तोडफोड

शनिबार, २७ मंसिर २०८२

काठमाडौं— खेलाडी हेर्न नपाएको झोंकमा स्टेडियम तोडफोड भएको छ ।

अर्जेन्टिनी फुटबल सुपरस्टार लियोनल मेसीलाई हेर्न नपाएको झोंकमा दर्शकहरुले साल्ट लेक स्टेडियम तोडफोड गरेका हुन् ।

शनिबार जीओएटी टुर अन्तर्गत कोलकाताको साल्ट लेक स्टेडियममा आयोजना गरिएको कार्यक्रममा मेसीलाई प्रत्यक्ष हेर्न नपाएका फ्यानहरूले स्टेडियममा कुर्सी, बोतल फ्याँक्ने र तोडफोड गरेका दृश्यहरु सामाजिक सञ्जालमा छ्यापछ्याप्ती भएका छन् ।

बीबीसीका अनुसार, केही फ्यानहरूले खराब व्यवस्थाका कारण मेसीलाई प्रत्यक्ष हेर्न नसकिएको गुनासो गर्दै प्रवेश शुल्क फिर्ता माग गरेका थिए। स्टेडियममा सबैभन्दा सस्तो टिकटको मूल्य ५ हजार भारतीय रुपैयाँ रहेको बताइएको छ।

मेसी शनिबार बिहान फुटबलर लुइस सुआरेज र रोड्रिगो डी पालसँगै कोलकातामा पुगेका थिए। उनका झलक पाउने आशामा हजारौं फ्यान एयरपोर्टमा रातिदेखि नै प्रतिक्षारत थिए। मेसी सवार विमान शनिबार बिहान २ बजेर २६ मिनेटमा अवतरण गरेको थियो।

बीबीसीका अनुसार जीओएटी इन्डिया टुर–२०२५ अन्तर्गत मेसी तीन दिन भारतमा रहनेछन् र यस दौरान चारवटा भारतीय शहर भ्रमण गर्ने कार्यक्रम रहेको छ।