अष्ट्रेलियाको बोन्डी बिचमा दुई बन्दुकधारीले गोली चलाउँदा १० जनाको मृत्यु

आइतबार, २८ मंसिर २०८२

काठमाडौं — अष्ट्रेलियाको बोन्डी बिचमा दुई बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा १० जनाको मृत्यु भएको छ ।

न्यु साउथ वेल्स प्रहरीले गोलीकाण्डमा एक आक्रमणकारी पनि मारिएको जनाएको छ ।

अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले घटनालाई स्तब्ध पार्ने र गहिरो रूपमा विचलित पार्ने बताएका छन् । प्रहरीले उक्त क्षेत्रमा विस्फोटक पदार्थ पत्ता लगाउने र हटाउने कार्य जारी राखेको छ ।

घटनास्थलको फुटेजमा बोन्डी पार्क पछाडिको पुलबाट दुई बन्दुकधारीको उभिएर गोली चलाएको देखिन्छ ।

घटनामा दुई प्रहरी घाइते भएको प्रहरीले जनाएको छ । यद्यपि, उनीहरूको चोटपटकको हद र हालको अवस्थाबारे खुलासा गरिएको छैन ।

प्रहरीले घटना नजिकै आयोजना हुने यहूदी पर्व हनुक्काह पर्वसँग सम्बन्धित छ कि छैन भन्ने कुरा तत्काल थाहा नभएको बताएको छ ।

एक प्रत्यक्षदर्शीले बीबीसीलाई बताएअनुसार गोलीबारी सुरु हुँदा उनी आफ्ना बच्चाहरूसँग समुद्र तटमा हनुक्का कार्यक्रममा थिए ।

गोलीबारीपछि आफ्ना बच्चाहरू लिएर त्यहाँबाट भागेको बताए ।