जेनजी नेता सुधन गुरुङ संसद पुनःस्थापनाको पक्षमा उभिए
काठमाडौं— जेनजी नेता सुधन गुरुङ संसद पुनःस्थापनाको पक्षमा उभिएका छन् ।
संविधान संशोधन गरि जेनजीका माग संबोधन गर्ने सर्तमा संसद् पुनःस्थापना गर्न सकिने भन्दै एमाले कांग्रेसको एजेण्डामा सहमत भएका छन् ।
कान्तिपुर टिभीको फायर साइडमा कुरा गर्दै गुरुङले संसद् ब्युँताएर जेनजीका एजेन्डा पास गर्ने, चुनावको मिति घोषणा गर्ने र पुनः संसद् विघटन गरेर नागरिकको सरकार बनाई चुनाव गर्ने सर्तमा आफूहरु तयार रहेको बताएका हुन् ।
सुधन गुरुङले आफू लड्ने र भिड्ने बाहेकको कुरा गर्ने मान्छे नभएको बताउँदै आफूले कुनै पनि नेतालाई अहिलेसम्म नपिटेको बताएका छन् ।
कान्तिपुर टेलिभिजनको फायरसाइडमा कुरा गर्दै उनले लड्ने भनेको प्रतिस्पर्धा गर्ने कुरा भएको बताउँदै भने, ‘मलाई देख्नेबित्तिकै मुक्कामुक्कीको कुरा आउँछ । तर म त्यस्तो त हैन नि । तर म जस्तो सुकै भ्रष्ट नेतालाई पनि धम्क्याउन तयार छु ।’
उनले आफूहरूलाई गिराउन नेताहरू जुन हदसम्म पनि जान तयार भएको समेत बताए । बाराको सिमरास्थित एमाले नेता किसान श्रेष्ठको घरमै छिरेर धम्क्याउनुभएको होइन भन्ने प्रश्नमा उनले भने, ‘उहाँहरूले गाउँलेहरूलाई त्रसित बनाउनुभएको रहेछ । चुन चुनकर मारुँगा भनेर भिडियो निकाल्नुभएको रहेछ । घर–घरमा मान्छे पठाएर थर्काउनुभएको रहेछ । यस्तो नगर्नुस् भनेर भन्न नपाउने हाम्ले ?’
उनले संविधान संशोधनका बुँदाहरूमा पहिल्यै सहमति गरेर अघि जान सकिने कुरा पनि गरेका छन् । उनले भने, ‘यसमा हामीलाई राजनीतिक दलका तर्फबाट निस्वार्थ नेता चाहियो । हातमा रगत लागेको र पैसा लागेको हैन ।’
साम, दाम, दण्ड, भेद प्रयोग गरेर सत्तामा पुग्न तयार हुने दलका नेताहरूसँग आफूहरूले कसरी चुनाव लडेर जित्ने भन्ने प्रश्न पनि अघि सारेका छन् । उनले तीन महिनाको अवधिमा जेन-जीहरूलाई चुनाव लड्नका निम्ति समय पर्याप्त नहुने बताउँदै भने, ‘३६ वर्षमा दलका नेताहरूले बनाएको संयन्त्र ढाल्नका लागि हामीलाई तीन महिनाको समय पर्याप्त हुन्छ ?’