राष्ट्रपतिका राजनीतिक सल्लाहकारले दिए राजीनामा

मंगलबार, १ पौस २०८२

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलका राजनीतिक सल्लाहकार सुनीलबहादुर थापाले पदबाट राजीनामा दिएका छन् । नियुक्ति पाएको तीन वर्ष हुनै लाग्दा उनले राजीनामा दिएका हुन् ।

गएको मंसिर १२ गते नै दिएको राजीनामा त्यसै दिन स्वीकृत भएको थापाले जानकारी दिए । त्यसयता आफ्नो जिम्मामा रहेका सामग्री तथा जिम्मेवारी हस्तान्तरणका निम्ति मात्र शीतलनिवास गइरहेको उनले बताए ।

“मैले सक्रिय राजनीतिमा फर्कने गरी गत १२ गते नै राजीनामा बुझाएको हुँ, मेरो राजीनामा त्यस बेला नै स्वीकृत भइसकेको छ,” थापाले भने, “अब पार्टी महाधिवशेनमा होमिनेछु ।”

उनले तत्काल राजीनामा दिनुको कारण भने राष्ट्रियसभामा जाने आकांक्षा हो । “राष्ट्रियसभा निर्वाचनमा पनि प्रयास हुन्छ,” उनले भने ।

दिवंगत पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका छोरा समेत रहेका सुनील राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) त्याग गरी समूहसहित कांग्रेसमा प्रवेश गरेका थिए । कांग्रेस प्रवेश गर्दा सहमहामन्त्री बनेका उनी पार्टीको १४औँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए ।