खगेन्द्रप्रसाद र रुद्रकली लिन आएको विमान कोलकाता डाइभर्ट

बुधबार, २ पौस २०८२

काठमाडौं — नेपालबाट दुईवटा हात्ती लैजान आएको कतार एयरवेजको कार्गो चार्टर विमान खराब मौसमका कारण भारतको कलकत्ता डाइभर्ट भएको छ ।

खराब मौसमका कारण भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न नसकेपछि विमान कलकत्ता डाइभर्ट भएको थियो ।

उक्त विमान नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप दिन लागेको खगेन्द्रप्रसाद र रुद्रकली लिन आएको हो ।

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार विमान भैरहवामा अवतरण सम्भव नभएपछि कलकत्ता डाइभर्ट भएको थियो ।

‘खराब मौसमका कारण विमान अवतरण गर्न सकेन । ७-८ फन्को लगाएपछि पनि मौसम नखुलेपछि जहाज कलकत्ता डाइभर्ट भएको थियो,’ उनले भने, ‘अब जहाज केहीबेरमा कलकत्ताबाट भैरहवा आउनेछ । त्यसपछि हात्तीलाई कतार पठाइन्छ ।’

उनका अनुसार अहिले हात्तीलाई विमानस्थलनजिकै कन्टेनरमै खाना खुवाएर राखिएको छ । हात्ती बोकेको विमान भैरहवाबाट उडान भरेको ४ घण्टामा कतार पुग्ने उनको भनाइ छ ।

खगेन्द्रप्रसाद र रुद्रकली हात्ती मंगलबार बिहान चितवनबाट भैरहवा पुर्‍याइएको थियो ।