पार्टी गठनपछि हर्क साम्पाङलाई एकपछि अर्को दसा

बुधबार, २ पौस २०८२

काठमाडौं—पार्टी गठनपछि हर्क साम्पाङलाई एकपछि अर्को दसा लागेको छ ।

पार्टी दर्ता भएको एक महिनापनि नपुग्दै अख्तियार पछि लागेको साम्पाङलाई फेरि उपाध्यक्षको काण्डले महादशा निम्त्याएको छ ।

साम्पाङले आफ्नो दाइनेहात मानिने उपाध्यक्ष राजकुमार तामाङलाइ मन गाँठो पारेर निलम्बन गर्नुपर्ने बाध्यता आइलागेको छ । बबरमहल बम विस्फोट काण्डमा संलग्न देखिएको आरोपमा प्रहरीले तामाङलाई पक्राउ गरेपछि पार्टीले उनलाई बाध्य भएर जिम्मेवारीमा हटाएको छ ।

पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रहरीलाई अनुसन्धानमा बाधा नपुगोस् भनेर पार्टीको कुनै पनि पदमा नरहने गरी निलम्बन गरेको बताए । उनले अनुसन्धान नटुङ्न्जेल सम्मका लागि निलम्बन गरेको समेत बताएका छन् ।

उनले राजनीतिक गतिविधिको कारण देखाउँदै प्रहरीले तामाङलाई पक्राउ गरेकाले अनुसन्धानमा आफ्नो पार्टीले बाधा नपुर्‍याउने बताए ।

पक्राउ परेका तामाङ विश्व क्रान्ति उपनामले संयुक्त जातीय मुक्ति मोर्चा नामक सङ्गठनमा रहेका थिए ।

सो सङ्गठनमा रहेका बेला काठमाण्डौं लगायत देशको विभिन्न स्थानमा बम विस्फोट गराएको अभियोग तामाङ माथि लागेको छ ।

सो सङ्गठनले २०६८ फागुन १५ मा बबरमहलस्थित आयल निगम गेटमा भएको बम बिस्फोट गराएको प्रहरीको दाबी छ । सो घटनामा ३ जनाको ज्यान गएको थियो भने ७ जना घाइते भएका थिए ।

यस्तै, पाँचथरमा एक जनाको ज्यान जाने गरी भएको घटनामा पनि उनी मुछिएका थिए । तत्कालीन समयमा यो सङ्गठनले भूमिगत रहेर हिंसात्मक गतिविधिहरू गरिरहेको थियो । विगतमा पक्राउ परेर जेल चलान भए पनि प्रजातन्त्र दिवसको अवसरमा सरकारले आममाफी दिएपछि २०७६ फागुन ७ गते तामाङ छुटेका थिए । उनी पाँचथरमा एक बालिकाको ज्यान जाने गरी भएको बम विस्फोटको घटनामा पक्राउ परेका थिए ।