एक धुरन्धर चोर प्रहरीको फन्दामा
काठमाडौं— एक धुरन्धर चोर प्रहरीको फन्दामा परेका छन् ।
सहकारी चोरेर हरेक दिन युवती फेर्दै लग्जेरियस होटल चहार्ने नुवाकोटको बेलकोट नगरपालिका–९ का दीपक गजुरेललाई प्रहरीले पक्राउ गरेको हो ।
चोरी, लागुऔषध लगायतको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका गजुरेल जेनजी आन्दोलनपछि फरार भएका थिए ।
भागेको तीन महिनापछि उनलाई एकै सहकारीबाट १६ लाख चोरेको अभियोगमा प्रहरीले पुनः पक्राउ गरेको हो ।
चोरीपछि काठमाडौं, पोखराका लग्जेरियल होटलमा युवती फेरिफेरी बस्ने गरेको प्रहरीको अनुसन्धानले देखाएको छ ।
लवाइखवाइ र मोजमस्ती हेर्दा यी व्यक्ति कुनै धनाढ्य परिवारका हुन् भन्ने लख काट्न सकिन्छ । तर सत्य त्यसको ठिक उल्टो छ । उनी न कुनै धनाढ्य परिवारका हुन्, न त आफैं उत्पात कमाउने व्यक्ति नै ।
यसरी मोजमस्तीको जीवनयापन गर्ने ख्याउटे जेनजी हुन् सहकारी चोरीका मोस्ट वान्टेड । जब कुनै सहकारी चोरी हुन्छ, अनि तिनै युवकको तीनपुस्ते पल्टाउन थाल्छ प्रहरीको चोरी शाखा ।
सहकारी चोरी भन्ने बित्तिकै प्रारम्भिक अनुसन्धानमा पर्ने ती जेनजीले चोरेको देखिएन भने बल्ल दोस्रो, तेस्रो विकल्पमा प्रहरीले अनुसन्धान अघि बढाउँछ ।
सहकारी चोरीमा कहलिएका ती कुख्यात युवक हुन् दीपक गजुरेल ।
जेनजीले गरेको आन्दोलनको मौकामा अर्का जेनजी दीपक भने सुन्धारा कारागारको चौघेराबाट बेपत्ता भए । अनि काठमाडौंमा मच्चाउन थाले लुटपाट र चोरीको धन्दा । त्यो पनि एक—दुई हजार होइन, एकै पटक १६—१६ लाख ।
सधैं मोजमस्तीमा बिताउने दीपकलाई कारागारको चौघेरा पट्यारलाग्दो हुने नै भयो । कारागारबाट निस्केपछि उनी पुनः मोजमस्तीमै लागे । जेनजी आन्दोलनपछिका तीन महिनासम्म काठमाडौंका सुविधा सम्पन्न होटलमा कोठा लिएर बसे । कहिले ठमेलका गेस्ट हाउस, कहिले गौशाला त रातोपुलका होटल बसे ।
अन्ततः कारागारबाट भागेको तीन महिनापछि २६ मंसिरमा रातोपुलको रोयल च्याम्बर होटलको कोठाबाट समातिए । आफ्नो सूत्र परिचालन गरी प्रहरी च्याम्बर होटलमा बिहान १० बजे पुग्दा उनी एक्लै थिएनन् । सँगै युवती पनि थिइन् । युवतीसँग हुनु उनका लागि त्यो दिनको संयोग मात्र होइन । फरकफरक युवतीसँग होटलमा बस्नु उनको दैनिकी नै हो ।
अनुसन्धानमा खटिएका आधारभूत तहका एक प्रहरी भन्छन्, ‘लुटपाटको एउटै उद्देश्य छ—मोजमस्ती गर्ने, फरकफरक केटी घुमाउने । क्लब जाने ।’
होटलबाट युवतीसहित समातिएका उनको साथबाट प्रहरीले २३ हजार ५०० बरामद गर्यो । १६ लाख चोरी भएको भन्दै जाहेरी परे पनि जम्मा साढे २३ हजार मात्रै भेटिएपछि प्रहरी नै चकित परे । बाँकी रकमका बारेमा सोध्दा दीपकले खर्च भइसकेको जवाफ दिए ।
प्रहरी, हिरासत र कारागार राम्रोसँग बुझेका उनलाई थाहा थियो— के जवाफ दिने, पैसा कहाँ लुकाउने । प्रहरी अनुसन्धानबारे आफूलाई धुरन्धर जानकार दाबी गर्ने उनीबाट कुरा नफुत्किने पक्का थियो । सँगै होटलमा बसेकी युवतीमार्फत प्रहरीले चाल चल्यो । अनि खुल्यो रकम लुकाएको ठमेलको अर्को कोठा ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईका अनुसार ठमेलको एक कोठामा लुकाएको अवस्थामा थप १० लाख बरामद भयो । उनले ठमेलको होटल लोटस ग्रान्डमा रकम लुकाएका थिए ।
त्यो रकम दीपकले सिनामंगलमा रहेको राज श्री फाइनान्सबाट २४ मंसिरको राति १२ः४५ बजे चोरी गरेको प्रहरीले बताएको छ ।
नुवाकोटको बेलकोट नगरपालिका—९ घर भएका दीपक पछिल्लो पटक यही सहकारी चोरी आरोपमा समातिएका हुन् । यो सहकारीबाट उनले १६ लाख चोरी गरेको भन्दै प्रहरी वृत्त गौशालामा उजुरी परेको थियो ।
दिनभर सहकारीको रेकी गर्ने, राति १२ देखि २ बजेको अवधिमा सहकारी चोर्ने उनको शैली देखिएको छ । अनि चोरी गरेको रकमले काठमाडौं, पोखरा जस्ता ठाउँमा घुमघाम गर्ने, मोजमस्ती गरेर रकम उडाउने गरेको प्रहरी अधिकारीहरू बताउँछन् ।
प्रहरीले उनीबाट चोरी गर्दा लगाउने कपडा पनि बरामद गरेको छ । चोरी गर्दा लगाइएको हरियो रङको हुडी, चोरी गर्दा नै लगाएको स्पोर्ट लेखेको पञ्जा बरामद भएको छ । सँगै खैरो रङको सन्नी लेखेको झोला, चाँदीका धातु, क्यानन क्यामेरा, नेक्सन लेखेको हार्ड ड्राइभ, डब्लूडी एलिमेन्ट्स लेखेको हार्ड ड्राइभ, रजिस्टर, नागरिकता, बैंकका चेकहरू पनि प्रहरीले बरामद गरेको छ ।
सहकारी चोरीमा अहिले हिरासतमा रहेका दीपक गजुरेलको यो २१औं सहकारी चोरी हो । समग्रमा पक्राउ र मुद्दा चलेको विवरण हेर्ने हो भने उनी समातिएको २३औं पटक हो । किनभने, उनी एक पटक अभद्र र एक पटक लागुऔषध कसुरमा समातिएका थिए ।