राज्यलक्ष्मी गोल्छा रवि लामिछानेको रास्वपा प्रवेश
काठमाडौं—केपी ओली, माधव नेपाल र झलनाथ खनाललाई पैसा बुझाएर सामानुपातिक सांसद बनेकी राज्यलक्ष्मी गोल्छा रवि लामिछानेको रास्वपामा प्रवेश गरेकी छन् ।
गोल्छा अर्गनाइजेसनकी सदस्य राज्यलक्ष्मी रास्वपाबाट प्रतिनिधि सभा सदस्यका लागि समानुपातिक उम्मेदवारको प्रारम्भिक सूचीमासमेत परेकी छन् ।
गोल्छा २०७० को संविधानसभामा एमालेबाट समानुपातिक सांसद बनेकी थिइन् । सांसद बनेबापत गोल्छाले एमालेलाई १ करोड ६५ लाख रुपैयाँ बुझाएकी थिइन् ।
गोल्छा दोस्रो संविधानसभामा नेकपा एमालेको तर्फबाट समानुपातिक कोटामा सभासद् बनेकी थिइन् । त्यतिबेला व्यापारिक घरानाबाट आएकी उनलाई ठूलो रकम चन्दा दिएकै आधारमा एमालेले सांसद बनाएको भन्दै पार्टीभित्र र बाहिर चर्को आलोचना भएको थियो ।
आफूले एमालेलाई १ करोड ६५ लाख रुपैयाँ स्वेच्छाले सहयोग गरेको गोल्छाले एक अन्तर्वार्ताका क्रममा बताएकी थिइन् ।
तत्कालीन एमाले नेता झलनाथ खनालले पाँच करोड सहयोग नगरे सभासद बनाउन नसक्ने बताएको उनले दाबी गरेकी थिइन् । गोविन्द थापाले १ करोड, भूपाल राई, परशुराम बस्नेत र निरु पाललगायतले ६२ लाख रुपैयाँ लगेको उनो दाबी थियो ।
त्यस्तै गंगाधर तुलाधरमार्फत माधव नेपाललाई १० लाख रुपैयाँ सहयोग गरेको उनले दाबी गरेकी थिइन् ।
एमालेसँगको उनको सम्बन्ध २०७२ सालमा बिग्रिएको थियो । तत्कालीन एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीको उम्मेदवार हुँदा संसदमा मतदानका लागि अनुपस्थित भएपछि पार्टीले उनलाई राजीनामा दिन निर्देशन दिएको थियो ।
२०७२ कात्तिक १ गते बसेको एमाले स्थायी कमिटीको निर्णय उनले अस्वीकार गरेकी थिइन् । उनले प्रधानमन्त्री चुनावको दिन विमानको टिकट बुक गरेको भए पनि एयरपोर्ट पुग्दा स्वास्थ्य खराब भएपछि उपस्थित हुन नसकेको उनले दाबी गरेकी थिइन् ।
एमालेसँगको सम्बन्ध बिग्रिएपछि उनी विवेकशील साझा पार्टीमा आबद्ध भएकी थिइन् । तर विवेकशील साझा र रास्वपाबीचको एकता भएसँगै उनी रास्वपा बनेकी हुन् ।
राज्यलक्ष्मी स्वर्गीय महेन्द्रकुमार गोल्छाकी श्रीमती हुन् । महेन्द्र गोल्छा विराटनगरलाई औद्योगिक नगरीको रूपमा चिनाउने प्रसिद्ध उद्योगी रामलाल गोल्छाका नाति हुन् । महेन्द्रकुमार गोल्छाले एमालेमा गरेका आर्थिक सामाजिक लगानीका कारण आफू त्यतिबेला सभासद् भएको उनले बताएकी थिइन् ।