जेनजी विद्रोहपछि नेपाल निकै संकटपूर्ण अवस्थामा
काठमाडौं—जेनजी विद्रोहपछि नेपाल निकै संकटपूर्ण अवस्थामा रहेको गोप्य रिपोर्टले देखाएको छ ।
सुरक्षा संयन्त्रले गरेको गोप्य अध्ययनले देश राजनीतिक रुपमा निकै संकटपूर्ण अवस्थामा रहेको रिपोर्ट सार्वजनिक भएको छ ।
सुदूरपश्चिम र गण्डकीमा सुरक्षा समितिको बैठक सकेर अन्य प्रदेशतिर लगातार छलफल र अन्तरक्रियामा रहेका सुरक्षा प्रमुखहरूले अवस्था निकै गम्भीर र भयावह रहेको बताएका छन् ।
उनीहरूले दलहरूप्रति आम जनताको विश्वास टुटेको र नयाँ कुनै दल, समूह वा व्यक्तिमा समर्थन केन्द्रित भइनसकेको निचोड निकालेका छन् ।
गाउँघरमा पुराना दलप्रतिको वितृष्णा अनौठो खाले देखिएको छ । ग्रामीण क्षेत्र केही साता घुमेर आएका एक अध्येताका अनुसार ‘वयस्कहरू समेत यी पुराना नेता चोर हुन्, तिनीहरूलाई फेरि जिताउनु हुँदैन’ भन्ने भाष्य बोकेर बसेका छन् ।
अर्कोतिर नयाँ पुस्ताहरूप्रति पनि ठूलो भरोसा नरहेको देखिन्छ ।
ठूला दलहरू एमाले–कांग्रेस र नेपाली कम्युनिस्ट पार्टी चाहिँ त्यो सत्यलाई अहिले पनि स्वीकार गरिरहेका छैनन् ।
हालै भक्तपुरको सल्लाघारीमा गाउँ गाउँबाट उठाएर गाडीमा ल्याइएकालाई स्वस्फुर्त रुपमा ओइरिएको संज्ञा दिनमा एमाले नेताहरू व्यस्त छन् ।
उनीहरूमध्ये कतिपय निशुल्क घुम्न र आनन्दले खान पाउने आशामा आएका हुन् भन्ने तथ्य तिनीहरूले नै सार्वजनिक गरेका अभिव्यक्तिहरूबाट पुष्टि भइसकेको अवस्था छ ।
उता नेपाली कांग्रेसलाई पनि पार्टी महाधिवेशनको माहोलले तलैसम्म पुनर्जागृत गरेको भ्रममा पारेको छ ।
जबकि कार्यकर्ताहरूमा नै पहिलेको जस्तो उत्साह देखिएको छैन ।
माओवादी र समाजवादी मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टी त झन् रनभुल्लमा देखिन्छ । सबै आकर्षित भएको र आफू नै राजनीतिको केन्द्रबिन्दुमा रहेको भ्रममा प्रचण्ड छन् । अझै निर्णायक र महत्वपूर्ण पात्र रहेको भ्रम माधव नेपाललाई पनि छँदैछ ।
उता सुरक्षा संयन्त्रले गरेको आन्तरिक अध्ययनमा समेत राजनीतिक रूपमा मुलुक निकै कमजोर भएको देखिएको छ । सुदूरपश्चिम र गण्डकीमा सुरक्षा समितिको बैठक सकेर अन्य प्रदेशतिर लगातार छलफल र अन्तरक्रियामा रहेका सुरक्षा प्रमुखहरू अवस्था निकै गम्भीर र माहोल तरल रहेको बताउँछन् ।
उनीहरूले दलहरूप्रति आम जनताको विश्वास टुटेको र नयाँ कुनै दल, समूह वा व्यक्तिमा समर्थन केन्द्रित भइनसकेको निचोड निकालेका छन् । त्यसैले अब बाँकी प्रदेशको सुरक्षा गोष्ठीपछि मात्रै चुनावका लागि आवश्यक म्यादी प्रहरीको छनोट प्रक्रिया अघि बढाउने तयारी भैरहेको जानकारहरू बताउँछन् ।