जेन–जी आन्दोलनका अभियन्तालाई खुला पत्र
प्रिय जेन–जी अभियन्ता भाइबहिनीहरू,
आदरपूर्वक अभिवादन।
आम नेपालीका लागि अब यो स्पष्ट भइसकेको छ—जेन–जी आन्दोलन कुनै क्षणिक आवेग वा आकस्मिक विस्फोट होइन । यो दशकौँदेखि सञ्चित राजनीतिक अस्थिरता, संस्थागत भ्रष्टाचार, अवसरको संरचनागत अभाव, बेरोजगारी, वैदेशिक पलायन तथा पुराना दल र नेतृत्वप्रति गहिरिँदै गएको अविश्वासको प्रतिफल हो।
डिजिटल युगमा हुर्किएको तपाईंहरूको पुस्ताका कारण सामाजिक सञ्जाल, वैकल्पिक मिडिया र सडक आन्दोलनमार्फत नेपाली समाजका पीडा, आवेग र आक्रोश सार्वजनिक भए। त्यसका लागि हार्दिक धन्यवाद। औपचारिक राजनीति जनजीवनका प्रश्न सुन्न असफल भइसकेको सन्दर्भमा यो स्वाभाविक पनि थियो। आमनागरिकलाई विश्वास छ—यो आन्दोलन कुनै दलको सहायक संरचना होइन । तपाईंहरू कुनै पार्टीका कार्यकर्ता होइन, न त कुनै एक नेताको छायामात्र। तपाईंहरू देशको थाकेको चेतनालाई हल्लाउने पुस्ता हुनुहुन्छ। यही कारणले तपाईंहरूप्रति आशा पनि छ, डर पनि छ र गम्भीर प्रश्नहरू पनि छन्।
यो आन्दोलन आफैंमा एउटा प्रश्न हो, पुराना संरचनामाथि, नेतृत्वमाथि, र अन्ततः आफैंमाथि पनि। आजको यथार्थमा जेन–जी अभियन्ताले सबैभन्दा पहिले जवाफ दिनुपर्ने प्रश्न बाहिरबाट होइन, आफ्नै आन्दोलनभित्रबाट उठेका प्रश्नहरू हुन् । यो पत्र केवल समर्थनको औपचारिकता होइनः उत्तरदायित्व स्मरण गराउन लेखिएको हो। आशा छ, तपाईंहरूले यसलाई गम्भीरतापूर्वक ग्रहण गर्नुहुनेछ । यस सन्दर्भमा निम्न प्रश्नहरू उठाउन चाहन्छु—
१) बलिदानः भावनात्मक कि राजनीतिक परिणाम ?
आन्दोलनका क्रममा युवाहरूले गिरफ्तारी, दमन, कुटपिट, अध्ययन र करियरमा अवरोध, मानसिक तनाव तथा सामाजिक जोखिम भोगे । ठूलो मात्रामा बलिदान भयो। नागरिक स्वतन्त्रता र राजनीतिक चेतनाको मूल्य चुकाउने अग्रपङ्क्तिमा युवा नै थिए।
तर प्रश्न अनिवार्य छ—
यी बलिदान कुन नीतिगत परिवर्तनमा रूपान्तरण भए ?
केबल एक थान नयाँ मन्त्रीमण्डलका लागि हो ?
कि ८४ को आम निर्वाचन ८२ मै सार्नका लागि मात्र हो ?
कुन संरचना हल्लियो ? कुन कानुन बदलियो ?
यदि बलिदान राजनीतिक परिणाममा परिणत भएन भने, इतिहास भावनाप्रति होइन—परिणामप्रति कठोर हुन्छ।
२) उपलब्धिः बहस बद्लियो, सत्ता बद्लियो ?
राजनीतिक बहस तात्यो, पुराना दल रक्षात्मक बने, युवा “मतदाता मात्र होइन, राजनीतिक कर्ता” का रूपमा देखिए । तर यत्तिले मात्र पुग्दैन । सत्ता संरचना बद्लिएन भने बहसको तापक्रमले इतिहास लेखिँदैन। उपलब्धि नाराबाट होइन, संस्थागत परिवर्तनबाट मापन हुन्छ।
राजनीतिक बहसलाई जागृत गराउन सफल जेन–जीले अब यो ऊर्जालाई दीगो संस्थागत परिवर्तनतर्फ कसरी रूपान्तरण गर्नेछ ? यही निर्णायक प्रश्न हो।
३) जनअपेक्षाः नारा होइन, जीवन
जनताले नयाँ भाषण होइन, नयाँ जीवन चाहेका थिए। रोजगारी, सेवा र सुशासन—यी अमूर्त आदर्श होइनन्ः तत्कालीन राजनीतिक कार्यसूची हुन्।
प्रश्न यही हो— के जेन–जी आन्दोलनले यी अपेक्षालाई स्पष्ट, बाध्यकारी र कार्यान्वयनयोग्य राजनीतिक एजेन्डामा रूपान्तरण गर्न सक्यो ? कि जनभावनामा सवार भएर दिशाविहीन यात्रामै सीमित रह्यो ?
४) एकताविहीन आन्दोलनः नैतिक कमजोरी
सबैभन्दा कठोर तर सत्य प्रश्न यही हो— किन साझा न्यूनतम एजेन्डा निर्माण हुन सकेन ?
किन नेतृत्वका स्पष्ट मापदण्ड तय भएनन् ?
किन व्यक्तिगत पहिचान आन्दोलनभन्दा माथि राखियो ?
यदि आन्दोलनभित्रै एकता सम्भव भएन भने, पुराना शक्तिलाई मात्र दोष दिनु राजनीतिक इमानदारी हुँदैन।

लेखक : नवराज बराल
५) प्रतिआन्दोलनः आँकलन कि आवेग ?
जसको विरुद्ध आन्दोलन भयो, उनीहरू पुनः संगठित छन्। राज्य संयन्त्र प्रयोग भइरहेको छ। आन्दोलन बदनाम गर्ने रणनीति सक्रिय छ।
सोध्नैपर्छ, के यो प्रतिकारको यथार्थपरक आँकलन गरिएको थियो ? कि भावनालाई नै रणनीति बनाइयो ? राजनीतिमा आवेग क्षणिक हुन्छ, रणनीति मात्र टिकाउ हुन्छ।
६) संसद्, निर्वाचन र स्पष्ट बाटो
यदि संसद् पुनःस्थापना भयो भने, जेन–जीको भूमिका के हुन्छ ?
यदि निर्वाचन भयो भने, भाग लिने कि बहिष्कार गर्ने ?
वैकल्पिक शक्ति एकीकृत हुन्छ कि पुनः विखण्डित ?
रणनीतिविहीन प्रतीक्षा आन्दोलन होइनः राजनीतिक भ्रम हो।
७) यदि फेरि पुरानै शक्ति हाबी भयो भने ?
त्यसपछि के ? अर्को आन्दोलन ?, उग्रता ?, निराशा र पलायन ?
जेन–जी केवल “विरोध” मा सीमित रहन्छ कि “विकल्प” का रूपमा उभिन्छ— यही निर्णायक प्रश्न हो।
आन्दोलनको कमजोर कडी आज जेन–जी अभियन्ता निगरानीमा छन्, चरित्रहत्याको सिकार भइरहेका छन्, आन्दोलन षड्यन्त्रपूर्ण अवरोध (sabotage) को जोखिममा छ।
सोध्नैपर्छ, सुरक्षा नीति के हो ?, नेतृत्व, अभियन्ता र समर्थकको सुरक्षा कसरी सुनिश्चित गरिन्छ ? “बङ्गलादेशजस्तो नहोस्” भन्ने चाहना मात्र पर्याप्त हुँदैन, त्यसका लागि ठोस योजना र संरचना अनिवार्य हुन्छ।
पुनः एकपटक,
प्रिय जेन–जी अभियन्ता भाइबहिनीहरू,
तपाईंहरू नेपालको राजनीतिमा आएको एउटा नैतिक झट्का हुनुहुन्छ। तर नैतिकताले मात्र सत्ता संरचना भत्कँदैन। इतिहास बदल्न संगठन चाहिन्छ, रणनीति चाहिन्छ, आत्मआलोचना चाहिन्छ। आज तपाईंहरूको सबैभन्दा ठूलो चुनौती पुराना नेता होइनन्, राज्य संयन्त्र पनि होइन, तपाईंहरूको आफ्नै अस्पष्ट राजनीतिक दिशा हो।
यदि यी प्रश्नहरूको जवाफ तपाईंहरूले आफैंलाई दिन सक्नुभयो भने, नेपालले तपाईंहरूलाई आन्दोलनकारी मात्र होइन, इतिहास बदल्ने राजनीतिक पुस्ताका रूपमा स्मरण गर्नेछ। नत्र भने, तपाईंहरू नारामै सीमित पुस्ताका रूपमा मात्र चिनिनुहुनेछ।