भरतपुर महानगरकी मेयर रेणु दाहालको पद धरापमा
काठमाडौं—भरतपुर महानगरकी मेयर रेणु दाहालको पद धरापमा परेको छ ।
नेपाली कम्युनिष्ट पार्टी चितवनले आगामी निर्वाचनमा चितवनको निर्वाचन क्षेत्र नम्बर ३ बाट चुनाव लड्न सिफारिस गरेपछि उनको पद धरापमा परेको हो । दाहाल क्षेत्र नम्बर ३ बाट सर्वसम्मत सिफारिस भएर चुनावको टिकट पाए मेयर पदबाट अनिवार्य राजीनामा दिनुपर्नेछ ।
प्रतिनिधि सभा निर्वाचन ऐनमा निर्वाचन लड्न सार्वजनिक पदधारण नगरेको व्यक्ति हुनुपर्ने कानुनी व्यवस्था छ ।
पार्टीको क्षेत्र नम्बर ३ को आज बसेको बैठकले क्षेत्र नम्बर ३ मा भरतपुर महानगरपालिकाकी मेयर दाहाललाई प्रतिनिधिसभा उम्मेदवारको लागि एकल सिफारिस गरेको हो ।
मेयर दाहालका अनुसार आजको बैठकमा आगामी फागुन २१ गते तोकिएको संसदीय निर्वाचनको लागि उनको मात्रै एकल नाम सिफारिस भएको हो ।
आज ३ नम्बर क्षेत्रको पार्टीको बैठक थियो । मेरो मात्रै नाम प्रत्यक्षतर्फ सिफारिस भयो’, दाहालले भनिन्, ‘साथीहरूको विश्वासलाई स्वीकार गर्छु । महानगर छोडेर निर्वाचनमा अघि बढ्नुपर्छ । चुनौतीका बीच पार्टीको निर्णय स्वीकार गरेको हुँ ।’