नेकपा माओवादीले नयाँ सरकार गठनका लागि सडक संघर्ष गर्ने
काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (माओवादी)ले सर्वपक्षीय सरकार गठनका लागि दबाब दिन सडक संघर्ष गर्ने भएको छ । बिहीबर काठमाडौंमा बसेको केन्द्रीय समितिको चौथो विशेष बैठकले सडक संघर्ष गर्ने निर्णय गरेको हो ।
बैठकमा पार्टी महासचिव विप्लव सीले सर्वपक्षीय सरकार गठन गरी निर्वाचनमा जान सकिने र अन्यथा देशमा ठुलो अर्को आन्दोलन हुने चेतावनी दिए । विप्लवले आफ्नो पार्टीले पेश गरेका १३ सूत्रीय मागहरुबारे १० दिनभित्र छलफल नभए ठुलो आन्दोलन गर्ने चेतावनी दिएका छन् । नेकपा (माओवादी) ले संविधान संशोधन, भ्रष्टाचार छानबिन गर्न उच्च स्तरिय नागरिक आयोग, उच्चस्तरिय अदालत, सर्वपक्षीय सरकार, विदेशी हस्तक्षेप बन्द, ५०० र १००० का नोट खारेजी, भ्रष्टाचारीलाई जन्मकैद लगायतका विभिन्न मागहरु रोखेको छ ।
बैठकले निर्वाचन आयोगमा पेश गरिने समानुपातिक तर्फका नामहरु छनौट गर्नेबारे पनि छलफल गरेको छ । बैठकले निर्वाचन आयोगमा पेश गरिने समानुपातिक बन्द सूचीका नामहरु छनौटका लागि प्रत्येक जिल्लाबाट एक–एक जनाको नाम सिफारिस गर्न जिल्लालाई जिम्मा दिएको छ ।

यसो गर्दा ७७ जिल्लाबाट ७७ वटा नामहरु पार्टी केन्द्रीय कार्यालयमा सिफारिस हुनेछन् । राजनीतिक दलहरुले ११० जनाको नामहरु समानुपातिकका लागि निर्वाचन अघि नै निर्वाचन आयोगमा बुझाउनु पर्ने व्यवस्था छ । आगामी फागुन २१ गते निर्वाचन हुने नै भए समानुपातिक तर्फका नामहरु पुस १५ भित्र बुझाउन निर्वाचन आयोगले समयसिमा तोकेको छ ।